काठमाडौं, ४ साउन । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालमाथि भएको आक्रमण घटनाको निन्दा गर्दै आक्रमणकारीलाई कारवाही गर्न सरकारसँग माग गरेको छ ।
एमालेले मधेस केन्द्रीत केही दलका व्यक्तिले आक्रमण गरेको भन्दै आक्रमणमा संलग्नलाई कारवाही गर्न गृहमन्त्री वामदेव गौतमको ध्यानाकर्षण समेत गराएको हो । सोमबार विज्ञप्ती जारी गर्दै एमालेले नुवाकोटमा अर्थमन्त्री रामशरण महतमाथि भएको आक्रमणको पनि भत्र्सना गरेको छ ।
संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको रायसुझाव सङ्कलन गर्न रौतहटको गौरमा आयोजित कार्यक्रममा आज विहान एमाले नेता नेपालमाथि आक्रमणको प्रयास भएको थियो । उक्त आक्रमणमा शिवशङ्कर यादव, मनोज सिंह, बैजनाथ सहनी, विनोद पटेल, पारस हुसैन, निरज सिंह र किशोर पटेल लगायत व्यक्तिहरू घाइते भएको एमालेले जनाएको छ ।
‘लामो संघर्ष, बलिदान र प्रयासपछि संविधानसभाबाट संविधान निर्माण भएर मुलुक राजनीतिक स्थायित्व, दिगो शान्ति र समृद्धिको दिशामा अगाडि बढ्न लागिरहेको छ । लाखौं जनता संविधानमा आफ्ना सुझावहरू प्रस्तुत गर्न देशैभरि निकै उत्साहकासाथ सहभागी भइरहनुभएको छ । यस्तो महत्वपूर्ण घडीमा संविधान निर्माणमा जनतालाई सहभागी हुनबाट रोक्न, संविधान निर्माणमा व्यवधान गर्न र मुलुकलाई अस्थिरतातिर धकेल्न केही अराजक, उच्छृङ्खल र लोकतन्त्रविरोधी तत्वहरू क्रियाशील देखिएका छन् ।
नेकपा (एमाले) संविधान निर्माणको यस ऐतिहासिक प्रक्रियालाई बिथोल्न र पार्टी नेता एवं सभासद्हरूमाथि गरिएका यस्ता आक्रमणको घोर निन्दा र भत्र्सना गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।
साथै एमालेले यस्ता अराजक तत्वहरूबाट जनताको रायसुझाव सङ्कलन कार्य अवरुद्ध हुन नदिन तथा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । कुनै पनि होहल्ला, उत्तेजना र गैरजिम्मेवार अभिव्यक्तिहरूबाट प्रभावित र विचलित नभई उच्च मनोबल र संयमताकासाथ सक्रियतापूर्वक आफ्ना रायसुझाव प्रस्तुत गर्न र ‘हाम्रो संविधान, राम्रो संविधान’ बनाउने ऐतिहासिक अभियानमा व्यापकरूपमा सहभागी हुन एमालेले आम जनसमुदायलाई आह्वान समेत गरेको छ ।












प्रतिक्रिया