पोखरा, ४ साउन । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानको मस्यौदामाथि जनमत सङ्कलनको कार्य हतारमा गर्न नहुने बताउनुभएको छ ।
पोखरा विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले आज र भोलि जनमत सङ्कलन गरेर यही साउन ७ गते नै संविधानसभामा बुझाउने कार्य एकदमै हतारो र अव्यावहारिक हुने बताउनुभयो । केही समय लगाएर भए पनि जनमतबाट आएका सुझावको अध्ययन गरी संविधानसभामा प्रस्तुत गर्नुपर्ने उहाँको भनाइ थियो ।
‘संविधान निर्माणको प्रक्रिया पूरा गरियो भन्ने मात्र होइन, यस्तो प्रक्रिया वास्तविक र स्वाभाविक ढङ्गबाट पूरा हुनुपर्छ, ‘फास्ट ट्र्याक’को नाममा देखावटी र अस्वाभाविक रुपमा काम गर्नुहुँदैन” – उपसभापति पौडेलले भन्नुभयो ।
उहाँले जनताका सुझावलाई महत्व दिएर त्यसका आधारमा मस्यौदामा परिमार्जन गरेर संविधान जारी गर्नुपर्छ भन्नुभयो ।
सञ्चारकर्मीको एक प्रश्नको जवाफमा उपसभापति पौडेलले भन्नुभयो – “मस्यौदामाथि जनताले दिने सुझावलाई मस्यौदामा समावेश गरिनुपर्छ, जनताको सुझावलाई केलाउन हतार गर्न हुन्न, महत्वका साथ लिनुपर्छ ।” रासस












प्रतिक्रिया