२० कार्तिक २०८३, शुक्रबार

संविधानको मस्यौदामाथि सुझाव सङ्कलन गर्न सभासद्हरु गृह जिल्लामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansad-1भीमदत्तनगर, ३ साउन । दोस्रो संविधानसभाले तयार पारेको नेपालको संविधान, २०७२ को पहिलो मस्यौदामाथि जनताका राय सुझाव सङ्कलन गर्न संविधानसभाका सदस्य कञ्चनपुर आएका छन् ।

सभासद्हरु बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कृपाराम राना, तारणी चटौत, कलशा महरा, आनन्दी पन्त, जयदेव जोशी, दुर्गा खुना र बलदेव बोहरा भीमदत्तनगर पुगेका हुन् । दुईजना सभासद् रमेश लेखक र नारायणप्रकाश साउद भने आज यहाँ पुग्ने कार्यक्रम रहेको छ ।
सुझाव सङ्कलनको तयारीका बारेमा सरोकारवाला निकायसँग आयोजित छलफल कार्यक्रममा साउन ४ र ५ गते चारवटै निर्वाचन क्षेत्रमा हुने सुझाव सङ्कलन कार्यक्रमका बारेमा जानकारी गराइएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दबहादुर कार्कीले चारवटै निर्वाचन क्षेत्रका बारेमा जिल्लामा भएको तयारीका बारेमा जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनपुर निर्वाचन क्षेत्र नं १ को कार्यक्रम बेलौरी नगरपालिका कार्यालयमा राखिएको छ ।

सो क्षेत्रमा दिवानसिंह विष्ट र आनन्दी पन्त, २ को कृष्णपुर गाविस भवनमा र सो ठाउँमा सिँचाइ मन्त्रीसमेत रहनुभएका नारायणप्रकाश साउद, कलशा महरा र दुर्गा खुना, ३ को भीमदत्त नगरपालिका कार्यालयमा र सो ठाउँमा बहादुरसिंह थापा, तारणीदत्त चटौत, कृपाराम राना र बलदेव बोहरा र निर्वाचन क्षेत्र नं ४ को भानु उमावि दोधारामा र सो ठाउँमा रमेश लेखक र जयदेव जोशी सहभागी हुने छन् ।

चारवटै निर्वाचन क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्था तथा खटिने कर्मचारीसमेत छनोट भइसकेको प्रमुख जिल्ला अधिकारी कार्कीले उल्लेख गर्नु भयो । जिल्ला सुरक्षा समितिको बैठकले ११ वटै सभासद्को सुरक्षामा खटिने सुरक्षाकर्मीलाई समेत आवश्यक प्रशिक्षण दिएर खटाइसकेको छ । छलफल कार्यक्रममा भनाइ राख्ने सभासद्हरुले जनतालाई निर्धक्क भएर आफ्ना सुझाव पेस गर्न आग्रह गरेका छन् । नागरिकले फोन, फ्याक्स, इमेलबाट समेत सुझाव पेस गर्न सक्ने छन् । रासस