म विमला भट्टराई, ७ वर्षको उमेरमा नै विवाह वुवाआमाले गरिदिनुभयो । त्यो उमेरमा के नै भन्नु थियो र घरमा केही समय व्यतित गरिसकेपछि श्रीमानको साथ लागेर म भारतको अशोक बिहारतिर लागेँ । श्रीमान् भारतको अशोक विहारमा रहेको अशोक होटलमा सरकारी जागिर खानुहुन्थ्यो । तनहुँ जिल्लाको मुलपानी चोक स्कुल वडा नं ४ मा जन्मिएको म सानैमा विवाह गरेको कारण केही समय माइतमा नै बसँे । माइतमा एकजना भाई छन् । त्यो भाईले मलाई एकदम माया गर्छ, तर के गर्नु भाईको मायाले मात्र सँधै माइतमा मात्र बसेर नहुने रहेछ !
भारतको अशोक होटलमा काम गर्ने श्रीमान केही बर्ष त्यही होटलमा काम गरेर छाडिदिनुभयो । त्यसपछि श्रीमानले प्राईभेट कम्पनीमा विभिन्न काम गर्नुभयो । श्रीमानले अत्याधिक रक्सी सेवन गर्ने कारणले गर्दा लहडी बन्दै जानुभएको थियो । उ बेलामा नै विवाह गर्दा मेरो र श्रीमानको उमेरबीच धेरै नै भिन्नता थियो । श्रीमानले रक्सी खाने कारणले गर्दा सरकारी जागिर छोडेर विभिन्न कम्पनीमा भौँतारिनुभयो । भारतमा नै रहँदा हाम्रो २ छोरा र १ छोरी जन्मिसकेको थियो । बालबच्चाको लालनपोषण भारतमा नै भयो । श्रीमानको लहडपनको कारण मैले पनि दुई छाक टार्नका लागि साबुन कम्पनी र नुन फ्याक्ट्रीमा समेत काम गरेँ । बालबच्चालाई खाईनखाई पढाएँ, छोरा माथि मेरो ठूलो भरोसा थियो । अर्काको देशमा अर्काको घरमा दुःख गरेर छोराहरुलाई १२ कक्षा सम्म पढाए । रक्सी सेवनका कारण श्रीमानको पनि मृत्यृ भयो । त्यसपछि केहि समय भारतमा नै बसेर काम गर्न थालेँ । वुढेसकालमा म वुढीलाई कसले काम दिन्थ्यो र ? कामबाट निकालिदियो । अनि, नेपालमा आएर केही समय छोराहरुको साथमा बसेँ । छोरा बुहारीको व्यवहार मैले सहन सकिनँ । सँधैको कचकच र हेला, खानलाउन नदिने, छिःछिः र दुरदुरले गर्दा आजित भएँ । छोराबुहारीसँग बस्दा पनि कहिल्यै हात पोको पारेर बसिन्, सकेको काम सधै गर्दथेँ, त्यति हुँदा पनि छोरा बुहारीले घरमा बस्न दिएनन् ।
मर्न भनेर हिँडेको, खै काल पनि नआउने रहेछ, फेरि ज्यानको माया लाग्दो रहेछ । बुढेसकालमा मेरा छोराहरुले मलाई पाल्ला माया गर्ला भन्ने धेरै ठूलो आश भरोसा थियो । वुढेसकालमा त हो नि सन्तान चाहिने । हेला र घृणाको पनि सिमा हुँदोरहेछ, त्यसलाई सहन नसकेपछि मर्नुको विकल्प रहेनछ । अब त मर्न बरु तयार छु तर छोराबुहारी कहाँ जान्न ।
श्रीमान सँधैको रक्सी खाने, सम्पत्ति कहिले कमाउने अनि यही छोरा छोरीलाई पढाउनु नै ठुलो सम्पति हो भन्ने सोच्दथेँ, तर होइन रहेछ । मर्न भनेर हिँडेको, खै काल पनि नआउने रहेछ, फेरि ज्यानको माया लाग्दो रहेछ । बुढेसकालमा मेरा छोराहरुले मलाई पाल्ला माया गर्ला भन्ने धेरै ठूलो आश भरोसा थियो । तर अहिले यी वृद्धाश्रममा आएर बसेकी छु । घरवाट दुवै छोराबुहारी, भाईबुहारी, सबैलाई मर्न जान्छु भनेर हिँडेको छु, अब मलाई खोज्न नआउनु भनेको छु । करिव ६ महिना जति भैसक्यो, अहिलेसम्म कोही पनि भेट्न आएको छैन । एकचोटि छोरी भेटन आई, तर छोराबुहारी आएका छैनन्, त्यस्तै रहेछ छोराबुहारी भन्ने पनि । छोरीले म कहाँ बस्न जाउँ भनेकी थिई, तर सँधै छोरी कहाँ बस्ने कुरा भएन ।
ठूलो छोराको नाम मधुविलास मिश्र हो । उ भारततिर बस्छ । ठुलो किनारा पसल चलाएर बसेको छ । बिहे नगर्दासम्म मात्र रहेछ छोरा भन्ने कुरा पनि । छोराको बिहेपछि सधै बुहारीको कुरा मात्र सुन्ने, मलाई बुहारीले सँधै कचकच मात्र गर्ने, सँधै निक्लेर मात्र जा भन्ने । एक दिन होइन, दुई दिन होइन, सधै कहाँ सकिदो रहेछ । मेरो आँशुले तिनीहरुलाई कहिल्यै सुख दिँदैन । सानो हुँदा मर्ला कि भन्ने पीर, अहिले त छोरा बुहारीले नै मार्ला जस्तो लाग्यो । भोको पेटर च्यातिएको कपडामा सँधै बस्न सकिँदो रहेनछ । यो पापी पेट कति दिन नै पो भोको बस्न सकिने रहेछ र ?

छोराबुहारीले नै खानलाउन नदिएपछि, सधै अरुसँग कति मागेर खाने ? मागेर नै खान परेपछि यिनीहरुको नजिक किन बस्ने भनेर घर छाडेर हिडेँ । यो बुढेसकालमा केही गरेर खाउँ भने कसैले काम पनि दिँदैन । हातखुट्टा चल्न छाडिसक्यो । सबैले बलेको आगो नै ताप्ने रहेछन् क्यारे । आमा बुवा नै सन्तानबाट सबैभन्दा पीडित हुने रहेछ । के कुरा गर्नु र जति कुरा गरेपनि सकिने होइन । मनको बह कसैलाई नकह भन्छन् । वुढेसकालमा त हो नि सन्तान चाहिने । हेला र घृणाको पनि सिमा हुँदोरहेछ, त्यसलाई सहन नसकेपछि मर्नुको विकल्प रहेनछ । अब त मर्न बरु तयार छु तर छोराबुहारी कहाँ जान्न । बरु अर्काले माया गरेर केही खान दिए, तर आफनो छोराबुहारीले खान दिएनन्, कति टुलुटुलु हेरेर बस्ने । संसार नै यस्तै हो कि जस्तो लाग्छ । के गर्नु कर्म नै खोटो भएपछि !
कान्छो छोरा राजु मिश्र हो । के कुरा गर्नु र, उसको पनि २ छोरी र १ छोरा छन् । छोराबुहारीले माया गर्ने भए कसलाई पो रहर हुन्थ्यो र मर्न । कान्छो छोरो र बुहारी नै चितवनको सरकारी कुखुरा फारममा काम गर्छन् । खान नदिने, खान दिए पनि खुट्टाले हुत्याएर खान दिने । सहन को पनि हद हुन्छ नि ? छोरा बुहारीको बचनले मलाई घर छोड्न बाध्य बनायो । बिहे नगरुञ्जेल मात्र रहेछ छोरा भन्ने चीज पनि, छोरा पाए बुहारीलाई, छोरी पाए ज्वाईँलाई भनेको यही रहेछ ।
तिनीहरुको पनि छन् नि छोराछोरी, तिनीहरुले पनि मलाई झै दुःख दिए बल्ल थाहा पाउँछन् । तिनीहरुले अहिले ओहो कति माया गर्छन्, छोरा छोरीलाई, मैले पनि त्यो भन्ने धेरै माया गरेर हुर्काएको हो भन्ने कुरा के थाहा ? छोरा बुहारीको त्यो हेला, दुःख सहन नसकेर माइतमा भाई कहाँ गएर बसेँ । सधै भाईकहाँ गएर बस्ने कुरा भएन, भाईले त मलाई अति माया गर्छ । तर के गर्नु उसको पनि परिवार छ । बस्न त भाईले यहीँ आएर बस्नु भन्थ्यो नि, सँधै भाई बुहारीकहाँ बसेर भएन । आफैले पाएको, १० धारा दुध चुसाएको छोराले त घरमा बस्न दिएन । खान दिएन । यस्ता छोरा पाउनुभन्दा त कोख रित्तै भएको जाति ।
छोरा बुहारीको तिरस्कार, हेला सहेर बस्न नसक्ने भएपछि सबैलाई भनेर घरबाट मर्न भनेर निक्लेर हिडेँ । अब त मर्नु परेपनि यहीँ मर्छु तर म फर्केर जान्न । पछि भाईले दमौलीमा भएको ओम शान्तिका संचालिका यमुना कहाँ ल्याईदियो । यमुनाले यस वेदव्यास जेष्ठ नागरिक आश्रमका अध्यक्ष सावित्री श्रेष्ठसँग भेट गराइदिनुभयो र उहाँको आर्शिवादले नै म यहाँ आएर बसेको छु । धेरै राम्रो छ, यहाँ खानपिन, बस्ने व्यवस्था, सबै राम्रो छ । यहाँ अन्य साथीहरु पनि हुनुहुन्छ, यी सबै छोराबुहारीबाट पीडित बनेका छन् । सबैको आफनै कथाहरु छन्, यो बुढेसकालमा एक अर्काको दुःख सुनेर बाँचेका छौ । जीवनको अन्तिममा यही आश्रम सहारा बनेको छ । भगवानको नाम जप्दै भगवानको काखमा जान आतुर छु ।
प्रस्तुतिः राजकुमार श्रेष्ठ (बीबी), तनहुँ













प्रतिक्रिया