– कमलराज भट्ट
काठमाडौं, ३ असार । क्रिकेटप्रेमी नेपालीलाई निराशा दिँदै आइसीसी विश्वकप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल छनोट चरणबाट बाहिरिएको छ । छनोट चरणमा आफ्नो समूहबाट उपाधि जित्ने उद्देश्यका सह–आयोजक राष्ट्र आयरल्याण्ड पुगेको नेपाल विश्वकप छनोटमा समेत पर्न सकेन् । शनिवार सम्पन्न आफ्नो अन्तिम खेलमा जर्सीसँग ७ विकेटले पराजित भएको नेपालको विश्वकप यात्रा यसपालि पनि पूरा हुन नसकेको हो ।
पहिलो खेलमै सिद्धान्तको उत्कृष्ट प्रदर्शनले नयाँ पुस्ताका खेलाडीलाई अवसर दिनुपर्ने पाठ नेपाली क्रिकेट जगत र आम नेपालीलाई सिकाएको छ । नेपालभित्र जुनियर टोलीमा कयौं प्रतिभावान खेलाडी छन् जसले अवसर पाएका छैन् । तिनीहरुलाई अवसर दिँदा के होला ?
यसअघि नामिबियामा भएको विश्वकप छनोट खेलबाट छनोट भएर नेपालले बंगलादेशमा ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट खेलेको थियो । तर, दोस्रोपटक ट्वान्टी–ट्वान्टी विश्वकप यात्रामा होमिएको नेपालले खराब प्रदर्शनका कारण अर्काे वर्ष भारतमा हुने खेल खेल्ने नपाउने भएको हो । दोस्रोपटकको विश्वकप यात्राका लागि छनोट खेलमा नेपालले कमजोर प्रदर्शनका कारण प्रतियोगितामा एक खेल बाहेक सबै गुमायो । नेपाली टिमले सुरुमा अमेरिकालाई पराजित गर्दा जुन उत्साह आम नेपालीलाई दिएको थियो, दोस्रो खेलदेखि त्यसलाई निरन्तरता दिन सकेन् ।
अहिले राष्ट्रिय क्रिकेट टोलीको प्रदर्शन देखेर सबै नेपाली निराश छन् । समूह चरण अन्तरगत नेपालले अमेरिका, आयरल्याण्ड, पपुवा न्युगिनी, हङकङ र जर्सीसँग खेलेको थियो । जसमा अमेरिकाबाहेक सबै टिमसँग पराजित भयो । नामिबियासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपालले प्रतियोगितामा ३ अंक जोड्दै आफ्नो दोस्रो खेलसम्म समूह ए को अंकतालिको शीर्ष स्थानमा थियो । तर, तेस्रो खेलदेखि नेपाल पछि परेको नेपालको आजसम्म पनि अंक ३ मात्रै छ ।

श्रीलङ्काली मूलका क्यानडाली पुवुदु दासानायकेको प्रशिक्षणमा रहेको नेपाली टोलीका कुनै पनि भरपर्दा ब्याट्सम्यानले सोचेअनुरुप प्रदर्शन गर्न सकेनन् । ब्याट्सम्यानको तुलनामा बलरले केही सुधारिएको प्रदर्शन गरे । तर, कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषवाकर, प्रदीप ऐरी, सागर पुन, विनोद भण्डारी र राजेश पुलामीको प्रदर्शन पनि कमजोर रह्यो । नेपालको तुलनामा कमजोर मानिएका टिमसँग पनि पराजित हुनु आफैमा आश्चर्यजनक छ । हुन त खेलमा हारजित हुन्छ नै तर सबै खेल हार्नु भनेको आश्चर्यजनक कुरा हो । सबै खेलमा नेपाल हार्नुमा विभिन्न कारणहरु केलाइएका छन् ।
नेपाल क्रिकेट संघ क्यानका कार्यवहाक महासचिव उत्तम कर्माचार्यले नेपाल लगातार पराजित हुनुका तीन कारण केलाएका छन् । उनका अनुसार, गर्मी मौसममा खेलिरहेको नेपालले चिसो मौसममा खेल्न नसक्नु, प्रत्येक खेलमा टस हार्नु र त्यहाँका क्रिकेट मैदानको पिच ‘फास्ट’भएको हुँदा नेपाली ब्याट्सम्यानको प्रदर्शन कमजोर देखियो ।
कर्मचार्यले भनेझैँ नेपाल लगातार पराजित हुनुमा थुप्रै कारण छन् । जसमा अर्काे कारण नयाँ खेलाडीलाई अवसर नदिनु पनि हो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य बनेर आयरल्याण्ड पुगेका नयाँ खेलाडी सिद्धान्त लोहनीले अन्तिम शनिबार मात्रै खेल्न पाए । राष्ट्रिय टिममा विश्वकप छनोटमा उनको यो पहिलो खेल थियो । यसअगाडिमा पाँच खेलमा उनी रंगशालामा बसेर हेरिरहेका मात्र थिए । कारण : उनलाई टिममा कुनै मौका दिइएन् । तर, शनिवार प्रशिक्षक पुबुदु दसानायकेले उनलाई अन्तिम खेलमा मौका दिएका थिए ।
त्यो मौकालाई सदुपयोग गर्दै सिद्धान्तले आफू व्याटिङ र बलिङमा सक्षम भइसकेको प्रष्ट पारे । उनी अलाराउण्डर खेलाडी हुन् । उनको उमेर मात्र २० वर्ष भएको छ । शनिबारको नेपालको अन्तिम खेलमा उनले १६ बल खेलेर २ चौका र २ छक्कासहित २७ रन जोडेका थिए, जुन नेपाली क्रिकेटरमध्ये सबैभन्दा बढी थियो । उनको उत्कृष्ट प्रदर्शनले नयाँ पुस्ताका खेलाडीलाई अवसर दिनुपर्ने पाठ नेपाली क्रिकेट जगत र आम नेपालीलाई सिकाएको छ ।
सिद्धान्त त केबल उदाहरण मात्र हुन् । नेपालभित्र जुनियर टोलीमा कयौं प्रतिभावान खेलाडी छन् जसले अवसर पाएका छैन् । तिनीहरुलाई अवसर दिँदा के होला ?
भनिन्छ, जवान हुँदा हरेकमा उर्जा हुन्छ । त्यो उर्जालाई अवसर मिल्यो भने जस्तोसुकै अप्ठेरोमा पनि सफलता पाइन्छ । नेपाली क्रिकेटमा पनि अवस्था यस्तै, राष्ट्रिय टिममा सबै खेलाडी पुरानै छन् एक/दुई खेलाडी बाहेक । जसका कारण नेपालले गतिलो प्रदर्शनको सुरुवात अहिलेसम्म गर्न सकेको छैन् ।
अब नेपाल र विश्वमा क्रिकेटको छवि राम्रो बनाउन नेपाली टोलीमा नयाँ खेलाडीलाई मौका दिनुपर्छ । उनीको सीप र कौशलताको सम्मान गरी सदुपयोग गर्नतिर लाग्नुपर्छ । तब मात्रै नेपालले सफलता हात पार्न सक्नेछ । तसर्थ नेपाली क्रिकेट टिममा व्यापक परिवर्तन र नयाँ खेलाडीलाई अवसर दिनुको विकल्प छैन् ।













प्रतिक्रिया