३२ असार २०८३, बिहिबार

सूचनाको दुरुपयोग संसारकै लागि चुनौतीपूर्ण : उपमहासचिव ज्ञवाली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । नेकपा (एमाले) केन्द्रीय स्कुल विभागले रूपान्तरणका लागि पठन संस्कृति बढाउन ‘अध्ययन र अनुभूति’ श्रृङ्खला सुरू गरेको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय च्यासलबाट यस्तो श्रृङ्खला सुरू भएको हो ।

पहिलो श्रृङ्खलामा पार्टी उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली प्रस्तुत भए । उनले इजरायली लेखक युवाल नोहा हरारीको चर्चित पुस्तक नेक्ससको अध्ययनपछिका अनुभूति सुनाए । उनले सूचनाको दुरुपयोग संसारकै लागि चुनौतीपूर्ण रहेको बताए । सूचनाको दुरुपयोगले व्यवस्था नै कमजोर हुने चर्चा गर्दै उपमहासचिव ज्ञवालीले सही र गलत सूचना छुट्याउन अध्ययन तथा तथ्य जाँच जरूरी रहेको उल्लेख गरे ।

नेपालको सन्दर्भमा मिडिया साक्षरता कमजोर रहेको बताउँदै उनले मिडिया साक्षरता बढाउँदा हरेक क्षेत्रमा सकारात्मक परिणाम हासिल हुने धारणा राखे ।

गलत सूचनाको प्रवाह र सूचना प्रविधिको दुरुपयोगले समाजमा अनेक भ्रम फैलिने गरेका उदाहरणहरू प्रस्तुत गर्दै उपमहासचिव ज्ञवालीले नयाँ नयाँ सूचना प्रविधिलाई नयाँ ढङ्गले सही सदुपयोग गर्नुपर्ने आवश्यकता औंल्याए । अर्को एक प्रसङ्गमा उनले हरेक आन्दोलन र सन्दर्भमा अब्बल रहने गरेको एमाले डिजिटल सूचना प्रणालीमा पनि अब्बल हुन आवश्यक रहेको औंल्याए ।

उनले चर्चा गरेको पुस्तक नेक्सस २०२४ मा प्रकाशित भएको हो । ४८७ पृष्ठको यो पुस्तक विश्वका बढी बिक्री भएका पुस्तकमध्ये एक हो ।

विभागले हरेक महिना यसरी नै नयाँ र चर्चित पुस्तकहरूमाथि चर्चा गर्ने योजना बनाएको छ । आगामी श्रृङ्खलामा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रस्तुत हुनेछन् ।

कार्यक्रममा पार्टीका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेल लगायत नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो । पहिलो श्रृङ्खलाको सहजीकरण विभाग सदस्य सिर्जना काफ्लेले गरेकी थिइन् ।