२० कार्तिक २०८३, शुक्रबार

झगडाले होइन, समृद्धिले देश बन्छ : प्रदीप ज्ञवाली

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली, ७ असार । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले झगडाले होइन, समृद्धिले देश बन्ने बताएका छन् ।

एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशन पश्चात प्रतिनिधि परिषद्को दोस्रो बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै ज्ञवालीले नेपालले छिमेकी मुलुकहरूसँग सन्तुलित सम्बन्ध कायम राख्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

उनले नेपाललाई अस्थिरता, विभाजन र टकरावको राजनीति होइन स्थायित्व, विकास र सहकार्यको बाटो आवश्यक रहेको स्पष्ट पारे । उनले भने, “नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सम्झौता गरिसकेको छ । यदि भारतबाट पनि यस्तै प्रस्ताव आउँछ भने हामी खुलेर स्वागत गर्न तयार छौँ ।”

ज्ञवालीका अनुसार चीन र भारत जस्ता विश्वका प्रमुख अर्थतन्त्रसँग सहकार्य गर्दै मात्र नेपालले आर्थिक विकासको गति लिन सक्छ ।

उनले वर्तमान सरकारलाई चरम निराशाबाट निकाल्ने प्रयास भइरहेको बताउँदै माओवादी केन्द्र र अध्यक्ष प्रचण्डमाथि कडा कटाक्ष गरे । “३२ सिट मात्र जितेको पार्टीले विदेशीको इशारामा काम गरिरहेको देखिन्छ,” ज्ञवालीको टिप्पणी थियो ।

त्यस्तै, उनले एमालेले नन्दकिशोर पुनलाई राष्ट्रपति बनाउने प्रस्ताव राख्दा प्रचण्डले त्यसलाई अस्वीकार गरेको पनि खुलासा गरे । “विदेशी चाहनाअनुसार निर्णय गर्ने प्रवृत्तिले राष्ट्रलाई आत्मनिर्भर बनाउँदैन,” उनले भने ।

ज्ञवालीले माओवादी प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको र देश विकासमा बाधा पुगेको टिप्पणी गर्दै एमालेभित्र अवसरको भरमा आएको प्रवृत्तिले थप चुनौती सिर्जना गरेको बताए ।

बैठकमा एमाले सिन्धुलीका इन्चार्ज मनोज जंग थापाले पार्टीमाथि भएको विभिन्न आक्रमणका बाबजुद संगठन अझै लेनिनवादी सिद्धान्त, विधि र पद्धतिमा दृढ रहेको बताए । उनले हालै पार्टीमा २ हजारभन्दा बढी नयाँ सदस्यहरू थपिएको र संगठन जनआकर्षणको केन्द्र बनेको दाबी गरे ।

कार्यक्रममा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै समूहगत छलफलबाट महत्वपूर्ण सुझावहरू प्राप्त भएको प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिए ।