
-कृष्ण पौडेल
कपिलवस्त, २० जेठ । भोरको उज्यालोले नयाँ आशाको किरण बोकेर आउँछ भन्ने विश्वास गर्ने वीरे अहिरको घर आज सुनसान छ। आँखाबाट आँसु थामिएका छैन, मनको पीडा शब्दले बयान गर्न सकेको छैन। विजयनगर गाउँपालिका–५ नौरगियास्थित भैंसी स्रोत केन्द्रमा आज बिहानको एक घण्टाले उनका वर्षौंदेखिका सपना खरानी बनाइदियो।
एकैपटक ५ वटा गर्भवती भैंसी र १ राँगाले अकालमै प्राण गुमाए। ती सबै भैंसीहरू नयाँ जीवन ल्याउने आँशामा थिए—पाडापाडी जन्मिनै लागेका थिए। तर, बिहान ७ बजेदेखि ८ बजेसम्मको समयले उनीहरूको जीवन लिलामी गरिदियो। गोठमा भुइँमा ढलेर छटपटाइरहेका पशुहरूको दृश्यले आँखामा आँसु र हृदयमा आघात थप्यो।
“यी भैंसीहरू केवल जनावर थिएनन्, हाम्रा सपना थिए, हाम्रो परिवारको हिस्सा थिए,” गोठ सञ्चालक वीरे अहिर बोल्दाबोल्दै अवाक् भए।
“जसरी आमा आफ्ना सन्तानप्रति माया गर्छिन्, म पनि यिनै भैंसीहरूलाई त्यस्तै माया गर्थें। आज म खाली भएको छु।”
२६ भैंसीमध्ये ६ मरे, ४ गम्भीर अवस्थामा छन्। प्रारम्भिक अनुसन्धान अनुसार दूषित चरी घाँसले विषाक्तता फैलिएको आशंका गरिएको छ। पशु प्राविधिक टोलीले नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइसकेको छ। तर, त्यो रिपोर्टले वीरे अहिरको गोठमा फर्किन नसक्ने जीवनहरू फर्काउने होइन।
भैंसीका टाउकाहरू गोठको कुनामा ढलेका थिए, आँखा अड्याउन गाह्रो। एकजना गोठालो बोल्छन्, “हिजो साँझसम्म तिनीहरू नाच्दै रमाउँदै घाँस खाइरहेका थिए, बिहान यस्तो अवस्था देख्दा त मन कुडिएको छ।”
यस घटनाले केवल एउटा किसानको सपना मात्रै होइन, एक गाउँको आत्मा झस्किएको छ। नौरगिया गाउँ आज मौन छ, गोठ सुनसान। आवाज छैन, गुनासो पनि छैन । छ त केवल भैंसीहरूको अभावमा शून्यता।








प्रतिक्रिया