काठमाडौँ, ३१ असार । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानको मस्यौदा फरक राजनीतिक दर्शन बोकेका दलहरुको साझा दस्तावेज भएकाले आपसमा बाझिएका बुँदा देखिएको बताउनुभएको छ ।
नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘संविधानको प्रारम्भिक मस्यौदामाथिको चिरफार विषयक विज्ञ प्रस्तुति कार्यक्रम’मा उपसभापति पौडेलले सो कुरा बताउनुभएको हो ।
बाझिएका बुँदालाई अन्तिम रुप दिने क्रममा सबै दलको सहमतिमा संशोधन गरिनेमा उहाँले जोड दिनुभयो ।
“संविधानको मस्यौदा लोकतान्त्रिक मूल्य मान्यतामा आधारित छ, लोकतान्त्रिक मूल्य मान्यता विपरीतको संविधानको मस्यौदा ल्याउन हामी सहमत भएनौँ, मस्यौदामा सञ्चारमाध्यमका हक कुण्ठित हुने कुनै व्यवस्था भए संशोधन गरिन्छ”– उहाँले भन्नुभयो ।
लोकतान्त्रिक अभ्यासबाट समाजवादमा प्रवेश गरिने भएकाले त्यस्तो समाजवाद लोकतान्त्रिक समाजवादको अवधारणाभन्दा फरक नहुनेमा पौडेलको जोड रहेको थियो ।
नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रदेशसहितको संविधान जारी नभएसम्म संविधान कार्यान्वयनमा नजाने भएकाले अधिकतम प्रयास गरी कार्यान्वयनमा जाने संविधान ल्याउनुपर्ने बताउनुभयो ।
“नागरिकबाट संविधानको सुझाव आउने समयको सदुपयोग गरी शीर्ष नेताले नामाङ्कन र सीमाङ्कनसहितको आठ प्रदेशको संविधान जारी गर्ने गृहकार्य गर्नुपर्छ”–संविधान मस्यौदा समितिका सभापतिसमेत रहनुभएका नेता सिटौलाले भन्नुभयो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले बहुलवाद लोकतन्त्रको आधारभूत सिद्धान्त भएकाले संविधानको प्रस्तावनामा बहुलवादको व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।












प्रतिक्रिया