काठमाडौं, २७ जेठ । नेपाली काँग्रेस नुवाकोट जिल्लाको भेलाले आफ्नै जिल्लाका सभासद् तथा अर्थमन्त्री डा. रामशरण महतले आफ्नो निर्वाचन क्षेत्रमा मात्र विकास आयोजना लगेको आरोप लगाएको छ ।
काठमाडौंमा जिल्लाका सभापति, महाधिवेशन प्रतिनिधि, क्षेत्र तथा इलाका प्रतिनिधिहरुको भेलाले मन्त्री महतले आफू निर्वाचित भएको क्षेत्र नम्वर दुईमा मात्र रकमान्तर गरी कार्यक्रमहरु लगेको आरोप लगाएको हो । काठमाडौंको ठमेलमा बुधवार नुवाकोटका २ सय बढी काँग्रेस प्रतिनिधिहरुको आकस्मिक भेलाले नुवाकोट क्षेत्र नम्वर २ क्षेत्रीय कार्यसमितिको नाममा विज्ञप्ति निकाल्न लगाएर महतले जिल्लाकै पार्टी सभासद् जगदिश्वर नरसिंह केसी जिल्लाको विकास विरोधी भएको भनी लगाएको आरोपको समेत खेद गरेको छ ।
भेलाले जिल्लामा आएका विकास आयोजनाहरु एक र तीन नम्वर क्षेत्रबाट हटाएर दुई नम्वरमा पारिएको तथा सिफारिस भएका कतिपय विकास आयोजनाहरु समेत हटाइएको भन्दै विज्ञप्ति मार्फत आफ्नै पार्टीका मन्त्री डा. रामशरण महत जिल्लाको समान विकास विरोधी भएको आरोप लगाएको छ ।
दोस्रो संविधानसभा चुनावमा नुवाकोट जिल्लाको तिनै क्षेत्रमा नेपाली काँग्रेसले प्रत्यक्ष चुनावमा विजय हासिल गरेको छ । तर, जिल्लामा एउटै पार्टी भइकन पनि क्षेत्र नम्वर १ बाट प्रत्यक्ष निर्वाचनमा बिजयी हुनुभएका सभासद नेता अर्जुन नरसिंह केसी र क्षेत्र नम्वर २ का सभासद मन्त्री महतबीच राजनीतिक दुरी रहँदै आएको छ ।














प्रतिक्रिया