२१ कार्तिक २०८३, शनिबार

बैतडीमा असिनापानीले गहुँबाली र तरकारीमा क्षति

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ३१ चैत । वर्षासँगै परेको असिनाले सुदूरपश्चिम प्रदेशमा बालीनाली र तरकारीमा क्षति पुगेको छ । शनिबार अपराह्न परेको असिनापानीले पाक्न लागेको गहुँबाली, तरकारी र बिरुवामा ठूलो क्षति गरेको किसानले बताएका छन् ।

जिल्लाको दोगडाकेदार, सिगास, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका विभिन्न क्षेत्रमा असिनाले तरकारी, फलफूल र अन्नबालीमा क्षति पुर्‍याएको हो ।

बैतडीका साथै सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि असिनापानीले अन्न र तरकारी बाली नष्ट गरेको जनाइएको छ । अन्नबाली भित्र्याउने समयमा परेको असिनाले पाक्नै लागेको गहुँबालीमा व्यापक क्षति पुर्‍याएको सिगास गाउँपालिका–९ का रामबहादुर चन्दले जानकारी दिए । असिनाले खेतबारी सेताम्मे भएका छन् । उनले भने, ‘गहुँ पाकेर भित्र्याउने तयारी भएको थियो, असिनापानीले सबै नष्ट गर्‍यो ।’

दोगडाकेदार–६ सित्तडका दलबहादुर कार्कीले पनि असिनाले गहुँबालीका तरकारी नष्ट गरेको बताए । फलफूल, आलु, प्याज, लसुन तथा खुर्सानी र बन्दा, काउली, टमाटरका बेर्नामा क्षति पुगेको उनले बताए ।

उनले भने, ‘पाक्न थालेको बालीनाली र तरकारी असिनापानीले सबै नष्ट पारेपछि उत्पादनमा कमी आउने देखिएको छ । किसानहरू चिन्तित भएका छन् ।’ कृषि ज्ञान केन्द्रले एकीन विवरण आउन नसके पनि अन्नबाली र तरकारीमा क्षति पुगेको जनाएको छ ।