२३ कार्तिक २०८३, सोमबार

कोशीमा पनि बन्यो एमाले-कांग्रेसको संयन्त्र, एक हप्ता भित्र जिल्ला संयन्त्र पनि गठन गरिने

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २८ कात्तिक । कोशी प्रदेशमा पनि सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीच सत्ता सहकार्यलाई प्रभावकारी बनाउन प्रदेशस्तरीय दुई दलीय संयन्त्र गठन भएको छ ।

प्रदेश संयन्त्रमा एमालेबाट एमाले कोशी इन्चार्ज तथा पूर्वमुख्यमन्त्री शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, एमाले कोशी अध्यक्ष घनश्याम खतिवडा रहेका छन् भने नेपाली कांग्रेसका तर्फबाट पूर्वमुख्यमन्त्री उद्धव थापा रहेका छन् ।

यसैबीच, मंगलबार बसेको संयन्त्रको पहिलो बैठकले दुई दलीय प्रदेश संयन्त्रको बैठकको अध्यक्षता पालैपालो गर्ने निर्णय गरेको छ । बैठकले दुई दलीय संयन्त्र गठनसम्बन्धी जारी परिपत्र अनुसार संयन्त्रलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

यसैगरी, बैठकले नेपाली कांग्रेसको तर्फबाट सभापतिले तोकेको एक जना प्रतिनिधि रहने व्यवस्थाअन्तर्गत कांग्रेसका प्रदेश कार्यसमितिका महामन्त्री उमेश थापालाई कांग्रेसको तर्फबाट संयन्त्र सदस्यमा थप गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश संयन्त्रबाट सहजीकरण गरी एक हप्ता भित्र जिल्ला संयन्त्र गठन गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, बैठकले सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै जनमुखी, सुशासनयुक्त बनाउन प्रदेश तथा स्थानीय तहको सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरी समाजमा व्याप्त सबै प्रकारका अराजकता र भ्रष्टाचारलाई अन्त्य गर्न सबै संयन्त्रहरुलाई प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय गरेको बताइएको छ ।

बैठकले कोशी प्रदेशको दुई दलीय संयन्त्र र कोशी प्रदेश सरकारका मन्त्रीहरुसँग प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउने मंसिर १४ गते शुक्रबार विराटनगरमा छलफलको आयोजना गर्ने निर्णय गरेको छ ।

यसैगरी, बैठकले दुई दलीय संयन्त्रको कार्यलाई एउटै मर्म र गतिमा एकरुपता साथ प्रभावकारी ढंगले अगाडी बढाउने उद्देश्यले प्रदेश तहमा १४ वटै जिल्लाका जिल्ला संयन्त्रका सदस्यहरुको संयुक्त बैठक तथा छलफलको आयोजना आगामी मंसिर २९ गते शनिबार विराटनगरमा गर्ने निर्णय गरेको छ ।