नुवाकोट । नुवाकोटको विदुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सडकबाट करिब एक सय मिटर तल खसेको मोटरसाइकलमा सवार चालकसहित तीनै जनाले ज्यान गुमाएका हुन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ११ बजे विदुर नगरपालिका–९ खड्कथोकमा बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडकबाट तल खसेको थियो।
दुर्घटनामा धादिङको खनियाबास गाउँपालिका–५ स्थायी घर भई हाल विदुर नगरपालिका–९ बस्दै आएका ४७ वर्षीय बुद्धिमान तामाङ, विदुर नगरपालिका–१३ की ३१ वर्षीया बिन्दा थापा मगर र सोही ठाउँकी २७ वर्षीया सुनिता थापा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली पुर्याइएको थियो। तर उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
प्रहरीले प्रारम्भिक अनुमानमा तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने जनाएको छ। घटनाबारे थप अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको छ। प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।












प्रतिक्रिया