२८ आश्विन २०८३, बुधबार

कृषि विकास बैंकले असार २२ सम्म नगद लाभांश दिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

agriculture_development_bank-krisi

राजाराम कार्की

काठमाडौँ, २५ जेठ । बाबुले लगानी गरेको झन्डै तीस वर्षपछि छोराले नगद लाभांश प्राप्त गरेका कारण सपुत कार्कीको परिवारमा खुसियाली छाएको छ ।

चन्द्रनिगाहपुरमा उखुखेती गर्नका लागि पहिलोपल्ट २०४० सालमा कृषि विकास बैंकबाट स्व केशवबहादुर कार्कीले ऋण लिएका थिए । छोरा सपुतले ३० वर्षपछि लाखौं रुपैयाँ लाभांश पाएका कारण उनको परिवारमा खुसी छाएको हो ।

सरकारी लगानीसमेत रहेको कृषि विकास बैंकले इतिहासमा पहिलोपल्ट बैंक स्थापना भएको ४७ वर्षपछि सर्वसाधारण सेयरधनीलाई लाभांश वितरण गरेको छ ।

कार्की परिवार जस्तै दाहाल र कोइरालाको परिवारसमेतले बैंकलाई बरदानको सङ्ज्ञा दिएका छन् । उनीहरूको परिवारले सोचेभन्दा धेरै लाभांश प्राप्त गरेका कारण उनीहरूको आकर्षणसमेत बंैकमा परेको छ ।

पिताजीले गर्दै आएको व्यापारमा सपुतले निरन्तरता दिँदै आएका छन् । उहाँले हाल गोबर ग्यास कम्पनी, धान चामल खरिद बिक्री केन्द्र, तथा पौराइबाबा स्कुलमा पनि लगानी गरेका कारण बैंकबाट लाभांश प्राप्त गर्नुभएको हो ।

बैंकले लाभांश वितरण गर्ला भन्ने सोचेको पनि थिइन तर सोचेभन्दा दशगुणा बढी लाभांश पाएकाले आफूहरू निकै खुसी भएको शङ्करप्रसाद कोइरालाले बताउनुभयो ।

पूर्व निजामती कर्मचारीसमेत रहेका सिन्धुलीवासी कोइरालाले बैंकको लगानीको ठूलो हिस्सा कृषि क्षेत्रतर्फ आकर्षित हुने हो भने लगानीकर्तालाई अझै बढी मुनाफा वितरण गर्नसक्ने सुझाव दिनुभयो ।

बैंकबाट ऋण लिएर बैंकलाई ऋणीहरूले समयमा नै साँवा ब्याज चुक्ता गरेका कारण बैंक नाफामा गएकाले ढिलै भए पनि सर्वसाधारणलगायतलाई बैंकले यस वर्ष ३१ दशमलव पाँच आठ प्रतिशत लाभांश वितरण गर्न सफल भएको छ ।

जेठ ९ गते बैंकको सम्पन्न सातौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०६९ / ०७० को सञ्चित मुनाफाबाट ३१.५८ प्रतिशत लाभांश दिने निर्णय पारित गरेको थियो ।

कृषि विकास बैंक लिले प्रदान गरेको यो लाभांश रकम सबैभन्दा उच्च बिन्दुमा रहेको बैंकका ऋणी राधेश्याम शर्माले जानकारी दिनुभयो ।

हालसम्म कृषि विकास बैंकको २४१ शाखाबाट दुई लाख १२ हजार साधारण सदस्यले उक्त मुनाफा प्राप्त गर्न सक्ने छन् ।

बैंकले अग्राधिकार सेयर धनीतर्फ लाभांश रु ३८ करोड ६२ लाख आठ हजार र साधारण सेयर सदस्यतर्फ रु एक अर्ब एक करोड पाँच लाख २६ हजार ३१६ लाभांश वितरण गर्ने भएको छ ।

बैंकले जेठ २१ गते देखि लाभांश वितरण सुरु गरेको छ । लाभांश रकम असार २२ गतेसम्म वितरण गर्ने योजना रहेको बैंकका शाखा अधिकृत अहिल्या मल्लले बताउनुभयो ।

लाभांश रकम एकैपटक दुई वित्तिय संस्था क्रमशः एस डेभलपमेन्ट बैंक र एस क्यापिटल लिमिटेडबाट वितरण गर्ने योजना रहेको सूचना महाशाखा प्रमुख रमेशराज रेग्मीले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०६९ / ०७० मा बैंकको खुद मुनाफा दुई अर्ब २९ करोड पुगेका कारण सेयर सदस्यलाई ३१ दशमलव पाँच आठ प्रतिशत मुनाफा वितरण गरिएको हो ।

बैंकले आर्थिक वर्ष २०६९ / ०७० असार मसान्तमा निक्षेप रकममा २५.९२ प्रतिशतले वृद्धि गरी रु.५४ अर्ब ४८ करोड पु¥याएको छ । अधिकृत पुँजी १३ अर्ब रहेको सो बैंकको कार्यसञ्जाल ७५ जिल्लामा विस्तार भई २४२ शाखा पुगेको छ । रासस