१८ कार्तिक २०८३, बुधबार

अधिकारी हत्या प्रकरणमा प्रहरीको जबाफ: रुद्र आचार्यलाई बेलायतबाट फर्काउने तयारी हुँदै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rudra-Acharya

काठमाडौँ, ११ असार । नेपाल प्रहरीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्या अभियुक्त रुद्र आचार्यलाई नेपाल फर्काउने तयारी भइरहेको जानकारी दिएको छ ।

प्रहरीको मोस्टवान्डेडमा सूचीमा रहेका आचार्यको बेलायती प्रहरीले खोजी गरिरहेको नेपाल प्रहरीको भनाइ छ । प्रहरीले आचार्यको नाममा रेड कर्नर नोटिस जारी गरेपनि बेलायतमै लुकेर बसेपछि कृष्णकी आमा गंगामाया अधिकारीले प्रहरीलाई गुहारेकी थिइन् । गंगामायाले वीर अस्पतालको शैयाबाट नेपाल प्रहरीका सूचना अधिकारीलाई गत जेठ ३२ गते लेखेको पत्र एड्भोकेसी फोरमका अधिकारकर्मी विकास बस्नेतले प्रहरी प्रधान कार्यालय नक्सालमा दर्ता गराएका थिए ।

सोही पत्रको जबाफ दिँदै प्रहरी प्रधान कार्यालयले भनेको छ– ‘निज अभियुक्त बेलायतको कुन क्षेत्र र स्थानमा रहेको छ भन्ने बारे एकिन गर्न इन्टरपोल लण्डनलाई समेत अनुरोध गरिएको छ । नेपालसँग सुपुर्दगी सन्धि नभएको मित्र राष्ट्र बेलायतबाट निज अभियुक्तलाई झिकाउने थप प्रयासका लागि इन्टरपोल महासचिवालयको समेत समन्वय र सहयोग लिइएको छ ।’ आचार्यलाई नेपाल झिकाउन कुटनीतिक पहल पनि भइरहेको प्रहरीको भनाइ छ ।

आफ्ना छोराका हत्यारालाई कारबाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनशन बसेका नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा निधन भएको थियो । आमा गंगामाया पनि सिकिस्त अबस्थामा छिन् ।

यस्तो छ प्रहरीको पत्र:

Krishna-adhikari-case