पोखरा, ११ असार । बर्षायामको सुरुवातसँगै पोखराका विभिन्न ठाउँमा फेरि जमिन भासिन थालेको छ ।
केही दिनयता लगातारजसो परिरहेको बर्षाका कारण जमिनको कमजोर सतह भासिन थालेको हो । मंगलबार राति परेको बर्षाले पोखरा उप–महानगरपालिका वडा नं १५ र १७ जोड्ने मितेरी पुल नजिकै जमिन भासिएर ठूलो खाल्डो परेको छ ।
बस्ती नजिकै जमिन भासिएपछि आसपासका स्थानीय बासिन्दाहरु त्रसित भएका छन् । त्यस क्षेत्रमा उत्तर दक्षिण भएर सुरुङ्ग बनेको छ । अघिल्लो बर्ष हिउँदको समयमा अर्मलामा जमिन भासिएर सयौं खाल्डा परेका थिए । गतबर्षको बर्षामा पनि पोखराका विभिन्न ठाउँमा जमिन भासिएको थियो ।
बर्षायाममा निरन्तर पानी पर्दा जमिनमुनिको बलौटे माटो बग्ने हुँदा कमजोर भू–सतह भएको ठाउँ भासिने सम्भावना बढी भएको भूगर्वविद्हरुले बताएका छन् ।
गत बैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनका कारण जमिनको भित्री भाग हल्लिएर कमजोर भएकाले त्यस्ता कमजोर भूभाग भासिन सक्ने सम्भावना छ ।














प्रतिक्रिया