२९ आश्विन २०८३, बिहिबार

‘बाबुराम अलग्‍गै पार्टी बनाउन सक्रिय’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai

काठमाडौं, २५ जेठ। एमाओवादी नेता बाबुराम भट्टराईले समानान्तर पार्टी संगठन बनाउन गृहकार्य गरिरहेको निष्कर्ष निकालेको छ। स्थायी समितिको शनिबार पार्टी मुख्यालयमा बसेको बैठकले यस्तो निष्कर्ष निकाल्दै यसबारे थप अनुसन्धान गर्ने निर्णय पनि गरेको छ।

स्रोतका अनुसार बैठकमा भट्टराई निकट नेता गंगा श्रेष्ठ, प्रभु साह र हेमराज भण्डारीले समानान्तर संगठनका लागि कार्यविभाजनको सूची तयार गरेको जानकारी अध्यक्ष पुष्पकमल दाहालले नै गराएका थिए। स्थायी समितिले श्रेष्ठ, साह र भण्डारीलाई बोलाएर सोधपुछ गर्ने निष्कर्ष निकालेको छ।

‘हस्तलिखित सूची हुनाले पुष्टि गर्न गाह्रो भएन’, एक स्थायी समिति सदस्यले भने, ‘पार्टी विभाजन गर्ने पूर्ण तयारीका रूपमा हामीले बुझेका छौं।’ बैठकमा भट्टराईले पार्टी फुटाउने गतिविधि गरेको प्रश्न नेताहरूले उठाएका थिए।

‘फुटको हल्ला चलाएर पार्टी रूपान्तरण अभियानलाई विषयान्तर गर्ने प्रवृत्ति र पार्टी कब्जा गर्ने छट्टु स्याल प्रवृत्तिबाट सतर्क बनौं’, भट्टराईले ट्विट गरेका छन्, ‘पार्टी विसर्जनबाट बचाऔं, नयाँ शक्ति निर्माण गरौं।’

केन्द्रीय समितिले पारित गरेको आठबुँदे विधि उल्लंघन गरेर भट्टराईको निर्देशनमा कार्यदल गठन गरेको, कार्यदलले पार्टी विभाजन गराउन कार्यविभाजनको सूची तयार गरेको, भट्टराईले फुट परस्त गतिविधि सञ्चालन गरेको निष्कर्ष स्थायी समितिले निकालेको छ। ‘अक्षर गंगा श्रेष्ठकै हो। उहाँहरूलाई बोलाएर सोधपुछ गर्ने भनिएको छ’, अर्का स्थायी समिति सदस्यले भने, ‘आफ्नै निर्देशनमा कार्यविभाजन गर्न लगाउने अनि त्यसको जिम्मेवारी लिनु त कता हो कता उल्टै हास्यास्पद तर्क गर्ने? बाबुरामजीको नैतिकता हराएछ।’

कार्यविभाजनको सूचीबारे दाहाल र भट्टराईबीच शुक्रबार चर्को बहस भएको थियो। दुई नेताको छलफलपछि भट्टराईले बेग्लै कार्यविभाजन गरेको भन्ने कुरा असत्य रहेको भन्दै प्रवक्ता दिनानाथ शर्माले खण्डन गरेका थिए।

आफूले ‘तपाईं जान लाग्नुभएको हो’ भनी सोधेको प्रश्नको जबाफमा भट्टराईले आफूहरूको त्यस्तो तयारी केही नरहेको गंगा श्रेष्ठलगायतले सूची बनाएको आफूलाई थाहा नभएको बताएको जानकारी दाहालले शनिबार बैठकलाई गराएका थिए।

आफ्नो समूहलाई मुलुकभर व्यवस्थित रूपमा परिचालन गर्न भट्टराई पक्षले बनाएको नेताकार्यकर्ताको सूची केही दिनअघि नै दाहालकहाँ पुगेको थियो।

‘बाबुराजीको कार्यविभाजनका विषय स्थायी समितिमा विशेष ध्यानाक र्षण भयो। यस विषयमा हामी गम्भीर छौं। यसलाई हामीले सामान्य रूपमा लिएका छैनौं’, स्थायी समितिका सदस्य लोकेन्द्र बिष्टमगरले भने।

सूची बनाउन जिम्मेवार ठहर्‍याइएका श्रेष्ठले भने त्यो विषय सकिइसकेको बताए। ‘उहाँहरूले प्रचार गर्नुभयो, उहाँहरूले नै खण्डन गरिसक्नुभयो, त्यसैले त्यो च्याप्टर क्लोज भइसक्यो’, श्रेष्ठले भने, ‘म नै कार्यविभाजन गर्न सक्ने भएछु भने त राम्रै भयो। अनुसन्धान गर्नुहुन्छ भने त्यो पनि राम्रै कुरा हो। हाम्रो विचारलाई बाहिर र भित्र बहस गर्न देऊ भनेका छौं।’ आफूहरूले आठबुँदे पार्टी सञ्चालन विधिलाई मानेको र त्यहीअनुसार अगाडि बढिरहेको उनले बताए।

स्थायी समितिले राष्ट्रिय सम्मेलनले अगाडि सारेको विधान र राजनीतिक प्रतिवेदन पारित गरेको अन्नपूर्ण पोष्टमा खबर  छ।