काठमाडौं, १० असार । युवा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य-सचिवमा केशव विष्टलाई आज नियुक्त गर्नुभएको छ ।
मन्त्री पौडेलले विष्टलाई राष्ट्रिय खेलकुद विकास ऐन, २०४८ अनुसार नयाँ सदस्य–सचिवमा नियुक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।
विष्टलाई खेलकुद विकास ऐनको दफा ३ को उपदफा २ अनुसार सङ्घहरुको तर्फबाट परिषद् अध्यक्षले तीन सदस्य नियुक्त गर्न पाउने अधिकारअनुरुप विष्टलाई राखेपको सदस्यमा नियुक्त गरेलगत्तै सदस्य–सचिवमा नियुक्ति गरिएको हो । विष्ट सेपाटाक्रो सङ्घका कार्यबाहक अध्यक्षसमेत हुनुहुन्छ ।
मन्त्री पौडेलले पौडी सङ्घको सिफारिसमा राजेन्द्र श्रेष्ठ र अखिल नेपाल फुटबल सङ्घको सिफारिसमा समिउल्लाहलाई राखेपको सदस्यमा नियुक्त गरेको मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद पौड्यालले जानकारी दिनुभयो ।
गत जेठ २८ मा युवराज लामाको कार्यकाल सकिएपछि सदस्य सचिव पद रिक्त थियो । नेपाली खेलकुद इतिहासमै पहिलो पटक महिलाले निमित्त सदस्य–सचिवका रुपमा शकुन्तला नगरकोटीले जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।















प्रतिक्रिया