३० आश्विन २०८३, शुक्रबार

कृषि विकास बैंकको साहित्यिक पत्रिका ‘समष्टि’ को १२२ औं अंक विमोचन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको साहित्यिक पत्रिका ‘समष्टि’को १२२ औं अंक बिहीबार बैंकको मुख्य कार्यालयस्थित सभाहलमा विमोचन गरिएको छ ।

बैंक सञ्चालक समिति सदस्य विनोदकुमार गुरागाईले पत्रिकाको विमोचन गरेका हुन् ।

बैंक सञ्चालक समिति सदस्य गुरागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम ‘समष्टि’का संरक्षक एवं बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको सभापतित्वमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गुरागाईले साहित्यप्रेमी मानिसको चरित्र कोमल र असल हुने बताउँदै उनले सबै मानिस साहित्यप्रेमी हुनुपर्ने बताए । उनले ‘समष्टि’ले नेपाली साहित्यको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै यसको निरन्तर प्रकाशनका लागि शुभकामना व्यक्त गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ‘समष्टि’का संरक्षक गुरुङले आफू साहित्यको साधक नभए पनि कला, संगीत र साहित्यमा रुचि रहेको बताए । उनले आर्थिक वर्ष २०८३/८४ देखि ‘समष्टि’लाई चौमासिक प्रकाशनका रूपमा अघि बढाइएको र आगामी दिनमा द्वैमासिक बनाउने योजना रहेको बताए ।

गुरुङले वि.सं. १९६० को दशकमा लमजुङ क्षेत्रमा प्रचलित ‘ओराली जाने’ भनाइसँग सम्बन्धित कविता पनि सुनाएका थिए ।

उनले पत्रिकाको प्रकाशनमा मेहनत गर्ने सम्पादन समूहका सदस्यलाई धन्यवाद दिँदै बडादशैं, तिहार, छठ तथा नेपाल संवत्लगायतका चाडपर्वको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा ‘समष्टि’का पूर्वसम्पादक एवं मदन पुरस्कार प्राप्त वरिष्ठ साहित्यकार कृष्ण धरावासीले शुभकामना मन्तव्य राख्दै १६ वर्षअघि आफूले पनि उक्त पत्रिकाको सम्पादकका रूपमा काम गरेको स्मरण गरे ।

पत्रिकाको सम्पादन समूहका अध्यक्ष एवं बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदीले कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तित्वहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य रीता सुवेदी, ‘समष्टि’का पूर्वसम्पादन समूहका सदस्य तथा कथाकार दिलीप शाह, पूर्वसम्पादक एवं कवि मोहिनी मन, बैंकका उपमहाप्रबन्धक, विभागीय प्रमुख तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम ‘समष्टि’का सम्पादक एवं बैंकका शाखा प्रमुख शान्तिराम भट्टराईले सञ्चालन गरेका थिए ।