काठमाडौं, १० असार । विवादास्पद लिपुपेक व्यापार सम्झौता विरुद्ध प्रदर्शनमा उत्रिएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।
नेपाललाई जानकारी नै नदिएर भारत र चीनले एकलौटी ढंगबाट नेपाली भुमि लिपुलेकमा व्यापार गर्ने सम्झौताविरुद्ध ज्ञापनपत्र बुझाउन चिनियाँ दूतावास जान लागेका मोर्चाका अध्यक्ष सहित कार्यकर्तामाथि लाठी चार्ज भएको सचिव राम खड्काले जानकारी दिनुभयो ।
‘ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो, एक्कासी प्रहरीले बिचमै रोकेर हामीमाथि लाठीचार्ज ग¥यो’ उहाँले भन्नुभयो-‘त्यसपछि हाम्रो टोली तितरबितर भएपछि ज्ञापन पत्र बुझाउनै पाएनौं ।’
उहाँका अनुसार लाठीचार्जपछि प्रहरीले लिपुलेक सम्झौता सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाउन दूतावास गएका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल सहित ६ जनालाई पक्राउ गरेको छ ।
अध्यक्ष नेपालसँगै मोर्चाका सदस्यहरु बीएन शर्मा, जगदीश लामिछाने, तिलक बोहोरा, प्रभात अधिकारी र सन्जय दवाडीलाई प्रहरीले पक्राउ गरेको मोर्चाका सचिव राम खड्काले जानकारी दिनुभयो ।
पक्राउ परेका सबैलाई महानगरीय प्रहरी प्रभाग कमलपोखरीमा राखिएको छ । मोर्चाले पक्राउ परेका सबैको शीघ्र रिहाइको माग गरेको छ ।












प्रतिक्रिया