काठमाडौं, २२ जेठ। प्रधानमन्त्री सुशील कोइरालाको असहमतिमै उनी चीन उडेको केही घन्टामै नेपाल एयरलाइन्स कर्पोरेसनको कार्यकारी अध्यक्षमा शिवशरण न्यौपानेलाई नियुक्त गएिको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकमा पर्यटनमन्त्री भीम आचार्यले नेपाल एयरलाइन्समा खुला प्रतिस्पर्धाबाट नियुक्त महाप्रबन्धक हुँदाहुँदै उसैको अधिकार प्रयोग गर्ने गरी न्यौपानेलाई कार्यकारी अध्यक्ष नियुक्ति गर्न प्रस्ताव गरेका थिए।
बैकठमा प्रधानमन्त्रीले अधिकार क्षेत्र बाझिने गरी नियुक्ति गर्न नहुने भन्दै प्रस्ताव रोकेका थिए, तर बिहीबार प्रधानमन्त्री चीन भ्रमणमा उडेलगत्तै मन्त्रिपरिषद् बैठक शाखाका सहसचिव शंकर पाठकले पर्यटन मन्त्रालयका कानुन महाशाखा प्रमुख रञ्जनकृष्ण अर्याललाई फोन गरेर प्रस्ताव सच्चाएर ल्याउन आग्रह गरेका थिए। त्यसलगत्तै पर्यटन मन्त्रालयबाट न्यौपानेलाई कार्यकारी अध्यक्ष बनाउने प्रस्ताव सुधार गरी मन्त्रिपरिषद् बैठक शाखामा पेस गरिएको थियो। मन्त्रिपरिषद् स्रोतका अनुसार कार्यकारी अध्यक्षमा न्यौपानेलाई नियुक्त गर्ने प्रस्ताव बुधबारकै मन्त्रिपरिषद् बैठकको माइन्युटमा बिहीबार साँझ समावेश गरिएको अन्नपूर्ण पोष्टमा खबर छ ।
खुला प्रतिस्पर्धाबाट यसअघि मदन खरेल नेपाल एयरलाइन्सको महाप्रबन्धकमा नियुक्त भएका छन्। उनकै सक्रियतामा अहिले चिनियाँ कम्पनीबाट चारवटा नयाँ जहाज खरिद गरी उडान भर्ने तयारीमा छन्। यसअघि नेपाल एयरलाइन्सको अध्यक्षमा पर्यटन मन्त्रालयका सचिव पदेन हुने व्यवस्था गरिएको थियो।
न्यौपानेलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेलगत्तै नेपाल एयर लाइन्समा फेरि अध्यक्ष र महाप्रबन्धकबीच अधिकार क्षेत्रको झगडा सुरु हुने देखिएको छ। निगममा कार्यकारी अधिकार सार्वजनिक संस्थान निर्देशन बोर्डबाट छनोट भएर आएका निगमकै कर्मचारी मदन खरेलले प्रयोग गरिरहेका छन्। यस्तो कार्यकारी अधिकार एकजनाले प्रयोग गरिरहेको अवस्थामा त्यही अधिकार प्रयोग गर्ने गरी अर्को कार्यकारी नियुक्ति गर्दा अधिकारबारे झगडा हुने निश्चित देखेर प्रधानमन्त्रीले निर्णय रोकेका थिए। विगतमा पनि निगममा महाप्रबन्धक कुलबहादुर लिम्बूले कार्यकारी अधिकार प्रयोग गरिरहेका बेला सरकारले सुगतरत्न कंसाकारलाई कार्यकारी अध्यक्ष नियुक्त गरेकाले ठूलो विवाद उत्पन्न भएको थियो।
मन्त्रिपरिषद् स्रोतका अनुसार कार्यकारी अध्यक्षमा न्यौपानेलाई नियुक्त गर्ने प्रस्ताव बुधबारकै मन्त्रिपरिषद् बैठकको माइन्युटमा बिहीबार साँझ समावेश गरिएको छ।
यसअघि हिसिला यमी पर्यटनमन्त्री हुँदा कंसाकारलाई कार्यकारी निर्देशक बनाएपछि अधिकार क्षेत्रमा झगड भएर लामो समय नेपाल एयरलाइन्स गतिविधिविहीन भएको थियो। केही सातामात्रै अघि चीनबाट चारवटा जहाज खरिद गरेर उडानको तयारी गरेको एनएसीमा कार्यकारी अध्यक्षको नियुक्तिले फेरि विवाद देखिने भएको छ। ‘गति लिन लागेको नेपाल एयरलाइन्समा फेरि धराशायी बनाउने खेल सुरु भयो’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक उच्च अधिकारीले अन्नपूर्णसँग भने, ‘खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त हुँदाहुँदै कार्यकारी अध्यक्ष नियुक्त गर्नु संस्थानलाई अघि बढ्न नदिने खेल हो।’ सरकारले कार्यकारी अध्यक्ष नियुक्त गरेको न्यौपाने हवाई उड्डयन प्राधिकरणका पूर्वकर्मचारी हुन्। यसअघि उनी जागिर छोडेर लामो समय जापान बसेका थिए।














प्रतिक्रिया