– सिन्ह्वा
नयाँ दिल्ली, २३ जेठ । उत्तरी भारतीय राज्य पञ्जावको अमृतसरमा रहेको शिख धर्माबलम्बीहरुको सुप्रसिद्ध मन्दिर ‘गोल्डेन टेम्पल’ मा शुक्रबार पुनः झडप भएको छ ।
मन्दिरमा शिख धर्मालम्वीका दुई समूहबीच झडप भएको हो । झडपमा परी कम्तीमा पनि १२ जना गम्भीर घाइते भएका छन् ।
आजभन्दा तीसवर्षअघि भएको अपरेशन ब्लुस्टारको स्मरणमा मन्दिरमा जम्मा भएका धर्माबलम्बीहरुका बीच झडप भएको जनाइएको छ ।
सन् १९४८ मा आजकै दिन मन्दिरमा भएको यीनै दुई समूहका व्यक्तिबीचको झडपको अन्त्यका लागि अपरेशन भएको थियो ।
भारतीय सैनिकले त्यस समयमा मन्दिरमा अपरेशन गरेको थियो । तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको निर्देशनमा अपरेशन गरिएको थियो ।
भारतको अमृतसरमा रहेको मन्दिरलाई शिख जातीका हतियारधारी पृथकतावादीले नियन्त्रणमा लिएका थिए ।
पछि सैनिकले गरेको अपरेशनपछि मन्दिर नियन्त्रणमा आएको थियो । सोही वर्षको अन्त्यतिर नै गान्धीलाई शिख जातीकै सुरक्षागार्डले हत्या गरेका थिए ।
शुक्रबार बिहान सोही वार्षिकोत्सव कार्यक्रम मनाउन शिख जातीकै एक समूहले समारोहको आयोजना गरेपछि दुई पक्ष बीचमा भिडन्त भएको समाचारमा जनाइएको छ ।
कार्यक्रममा एक समूहका व्यक्तिले भाषणगर्ने कार्यक्रम राखेका र अर्काे पक्षले सो कार्यक्रम नगर्न चेतावानी दिएका थिए । त्यही निहूँमा त्यहाँ भिडन्त भएको बताइएको छ ।
एकजना सुरक्षाकर्मीले नाम नबताउने शर्तमा मन्दिर क्षेत्रमा भिडन्त भएको र घाइते भएका १२ जनालाई अस्पताल भर्ना गरिएको जानकारी दिए ।
उनका अनुसार हाल सो क्षेत्रमा ठूलो सङ्ख्यमा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थिति नियन्त्रणभन्दा बाहिर जान पाएको छैन ।













प्रतिक्रिया