२७ कार्तिक २०८३, शुक्रबार

अध्यक्ष ओलीलाई राउटेले दिए ‘कोसी’ उपहार

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दैलेख (गुराँस), १८ मंसिर  । लोपउन्मुख राउटे जातीका मुखिया सूर्यप्रकाश शाहीले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई ‘कोसी’ उपहार दिएका छन् ।

बैतडीको झुलाघाटबाट सुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानका क्रममा दैलेख जिल्लाको गुराँसे गाउँपालिकामा प्रवेश गर्ने क्रममा फूलमालाले स्वागत गर्दै राउटे मुखिया शाहीले आफ्नो समुदायको जिविको पार्जनका लागि बनाउँदैं आएको काठबाट राउटेले बनाएको कोसी उपहार दिएका हुन् ।

उपहार ग्रहण पश्चात अध्यक्ष ओलीले राउटे मुखिया शाहीलाई आफूले लगाएको फुलको माला निकालेर लगाई दिए ।

एमाले राउटे समुदायको अस्थित्व बचाउँदै जीविको पार्जनमा सहज गर्न, शिक्षा स्वास्थ्यमा सहज पहुँच पुर्‍याउन नीतिगत र कार्यक्रमका हिसाबले पनि सहयोग गर्न तयार रहेको अध्यक्ष ओलीले बताए ।

स्वागत कार्यक्रममा आफ्नो समुदायको पुर्खौली पेशा नैं संकटमा परेका कारण बाँच्न पनि समस्या भएको भन्दै एमाले अध्यक्ष ओलीले सहयोग गर्नु होला भन्ने लागेर भेट्न आएको बताएका राउटे मुखिया शाहीले भने ‘हामी प्रधानमन्त्री केपी ओली ज्यूलाई भेट्न आको (आएको) हामीलाई जंगल बस्न समस्या छ । ओली ज्यू काठमाण्डु गया, मुगु रारा गया, सुर्खेत गया, हामीकन पनि मस्तै (धेरै) सहयोग गर्या अब पनि केहि सहयोग गरन्ना भनेर भेट्न आयाका (आएका) हौं ।’

अभियानका क्रममा गुराँस पुगेका अध्यक्ष ओलीले गुराँस गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समेत उद्घाटन गरेका छन् । कर्णाली प्रदेशका सरकारी कार्यालयमा राखिएको सबैभन्दा ठूलो राष्ट्रिय झण्डाउत्तोलन गर्दै पूर्वप्रधानमन्त्री ओलीले गुराँसका स्थानीय नागरिकले गरेको स्वागत ग्रहण गरेका छन् ।

कार्यक्रममा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञावली, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदिप ज्ञावली, विष्णु रिमाल, सचिव पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, पद्मा अर्याल, योगेश भट्टराई, लेखराज भट्ट, छविलाल विश्वकर्मा लगायतका नेताहरु सहभागि छन् ।