२७ कार्तिक २०८३, शुक्रबार

झापामा मानव–हात्ती द्वन्द्व बढ्दो, १६ वर्षमा ८० जनाले ज्यान गुमाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–राजकुमार ओली

झापा । झापामा जङ्गली हात्तीको आवागमन र आक्रमणका घटना बढ्दै जाँदा मानव–हात्ती द्वन्द्व चुनौतीपूर्ण बन्दै गएको छ ।

भारतसँग सीमा जोडिएको मेचीनगरको सतिघट्टा नाकाबाट जङ्गली हात्तीको ठूलो समूह नेपाल प्रवेश गरेपछि सीमावर्ती क्षेत्रदेखि जिल्लाका विभिन्न वन तथा बस्ती आसपासका क्षेत्रमा जोखिम बढेको हो ।

जिल्लाको बुद्धशान्ति गाउँपालिका–२ बिहानी टोलमा आज बिहान जङ्गली हात्तीको आक्रमणबाट मोटरसाइकल चालक घाइते भएका छन् ।

तीनतले सामुदायिक वनबाट निस्किएको हात्तीले मोटरसाइकलमाथि आक्रमण गर्दा स्थानीय ५६ वर्षीय डिल्लीबहादुर पौडेल घाइते भएका हुन् ।

बिहानी टोलबाट बुधबारेतर्फ जाँदै गरेको मे ३ प ६८६७ नम्बरको मोटरसाइकललाई हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट पौडेलको छातीमा चोट लागेको छ । उनलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा भर्ना गरिएको छ ।

यसैबीच, मेचीनगर नगरपालिका–७ को सतिघट्टा नाकाआसपासको क्षेत्रबाट जङ्गली हात्ती नेपाल प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।

केही दिनयता बाहुनडाँगी, प्रसाद गौडा, काँकरभिट्टा र सीमावर्ती क्षेत्रमा १२ वटाभन्दा बढीको सङ्ख्यामा हात्ती देखिएको स्थानीयले बताएका छन् ।

हात्तीको ठूलो समूह बस्ती आसपास देखिन थालेपछि स्थानीयवासीमा त्रास बढेको मेचीनगर नगरपालिका–७ का वडाध्यक्ष पहलाद ओलीले बताए ।

हात्तीको समूहले स्थानीय बस्तीमा प्रवेश गरी घरगोठ तथा बालीनालीमा क्षति पुर्‍याउन सक्ने जोखिम रहेको उनको भनाइ छ । हात्तीको आवागमन बढेपछि स्थानीयवासीलाई रातिको समयमा आवतजावत गर्न समेत समस्या भइरहेको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकीले जङ्गली हात्तीलाई भारततर्फ नै फर्काउन भारतीय प्रहरी समेत परिचालित भएको जानकारी दिए । नेपाल र भारतका सुरक्षा निकाय तथा सम्बन्धित पक्षबीच समन्वय गरेर हात्तीलाई बस्तीमा पस्न नदिन प्रयास भइरहेको उनले बताए ।

डिभिजन वन कार्यालय झापाका अनुसार जिल्लामा मानव–हात्ती द्वन्द्वको समस्या लामो समयदेखि रहँदै आएको छ । विसं २०६७ असार ३ देखि २०८३ असार मसान्तसम्म जङ्गली हात्तीको आक्रमणबाट ८० जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेमा ७० नेपाली र १० गैरनेपाली नागरिक रहेका छन् । सोही अवधिमा मानव–हात्ती द्वन्द्वका कारण २८ वटा जङ्गली हात्तीको समेत मृत्यु भएको कार्यालयले बताएको छ । आर्थिक वर्ष २०८२/८३ मा मात्रै हात्तीको आक्रमणबाट छ जनाको मृत्यु भएको थियो भने १७ जना गम्भीर घाइते भएका थिए ।

हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा झापाका विभिन्न स्थानीय तहका नागरिक रहेका छन् । मेचीनगर–९ की पेना किसान, दमक–३ का गणेशप्रसाद अधिकारी, मेचीनगर–१३ का खम्बासिंह कार्की, भद्रपुर–९ का रामबहादुर बुर्जा र कनकाईका कृष्णबहादुर भुजेलले ज्यान गुमाएको डिभिजन वन कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै, पछिल्ला घटनामा मेचीनगर–४ की पद्मा पौडेल र बरहदशी गाउँपालिका–२ की लुजुमा खातुनले समेत जङ्गली हात्तीको आक्रमणबाट ज्यान गुमाए ।

मानवीय क्षतिसँगै हात्तीबाट घरगोठ, पशुधन, भण्डारण गरिएको अन्न र खेतीपातीमा समेत ठूलो क्षति पुग्दै आएको छ । आर्थिक वर्ष २०८२/८३ मा मात्रै हात्तीबाट पीडित बनेका नागरिकलाई राहत तथा क्षतिपूर्तिबापत करिब दुई करोड रुपैयाँ वितरण गरिएको डिभिजन वन कार्यालय झापाले बताएको छ । सो अवधिमा १५ वटा पशुधन, १ सय ९१ स्थानमा भण्डारण गरिएको अन्न र २ सय ६८ घरगोठमा क्षति पुगेको थियो ।

वन क्षेत्रको अतिक्रमण, हात्तीको परम्परागत जैविक मार्ग अवरुद्ध हुनु, बस्ती विस्तार तथा वन क्षेत्रमा आहारा र पानीको अभाव हुनु मानव–हात्ती द्वन्द्व बढ्नुका प्रमुख कारण मानिएका छन् ।

हात्तीको आवागमन हुने क्षेत्रमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउने, सामुदायिक वनका उपभोक्ता र सुरक्षा निकायबीच समन्वय बढाउने तथा जोखिमयुक्त क्षेत्रमा निगरानी गर्ने कामलाई प्राथमिकता दिनुपर्ने देखिएको छ ।

वन्यजन्तुको संरक्षणसँगै नागरिकको जीउधनको सुरक्षा गर्नु अहिले जिल्लाका लागि चुनौती बनेको छ । सीमावर्ती क्षेत्रमा हात्तीको ठूलो समूह देखिन थालेपछि स्थानीय प्रशासन, वन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक देखिएको हो ।