
जाजरकोट, ८ मंसिर । नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियु यतिबेला भूकम्पबाट प्रभावित क्षेत्रमा छ । संगठनका केन्द्रीय उपाध्यक्ष नारायण घर्ती र महासचिव नरेश रोकायको नेतृत्वमा अनेरास्ववियुका नेताहरु जाजरकोटको भेरी नगरपालिका-३ पिपलडाँडा स्थित भूकम्पले क्षतविक्षत घरहरुको भग्नावशेष हटाउने र पुरिएका समानहरु निकाल्ने काममा व्यस्त छन् ।
स्थानीयहरुको माग र जोखिमको आधारमा उनीहरु बिहान ६ बजेदेखि बेलुका ६ बजे सम्म निरन्तर धुलोमा काम गरिरहेका देखिन्छन । घरको छानो छाएको ढुङ्गा निकाल्दै गरेका महासचिव रोकाय भन्छन, ‘हामी कात्तिक १ गते देखि नै भूकम्प प्रभावित क्षेत्रमा छौं, स्थानीयहरुको माग र जोखिमको आधारमा भत्किएका घरहरुको भग्नावशेष हटाने, पुरिएको समान निकाल्ने र पीडितहरुको बसोबासका लागि अस्थायी टहरा निर्माणका काम गरिरहेका छौं ।’
पार्टी केन्द्रको निर्णय बमोजिम संगठनको तर्फबाट २५ जनाको स्वयंसेवक समुह बनाएर भूकम्प प्रभावित क्षेत्रमा परिचालन भएको उपाध्यक्ष नारायण घर्तीले बताए । आफूहरुले विभिन्न संस्थाहरु संगको समन्वयमा आवश्यक राहत वितरण गर्नेदेखि पुनर्स्थापना र नवनिर्माणको काम गरिरहेको उपाध्यक्ष घर्तीको भनाइ छ ।
अनेरास्ववियुले काम गरिरहेको क्षेत्र पिपलडाँडाका स्थानीयहरुले सरकारी संयन्त्रले गर्न नसकेको काम अनेरास्ववियुले गरेको बताए । स्थानीय प्रवेश विक्रम शाहले भने, ‘हाम्रा भत्किएका घर सफा गर्न आर्मी, पुलिस पनि आए तर काम नै सुरु नगरेर फर्किए । जब अनेरास्ववियुको टिम आयो तब मात्र भत्किएको समान निकाल्न सफल भयौं । जोखिमपूर्ण काम गरेर महत्वपूर्ण सहयोग गरेको भन्दै स्थानीय नारद कार्कीले विद्यार्थी नेताहरूलाई धन्यवाद दिए । कार्की भन्छन, ‘राजनीतिक आस्था एक ठाउँमा होला, उहाँहरु हाम्रो दुस्खमा हातेमालो गर्न आउनु भएको छ । यो दुस्खको बेला निकै सहयोग गर्नु भएको छ, हामी यो गुन कहिल्यै बिर्सिने छैनौं ।’
अनेरास्ववियुले सो क्षेत्रमा हालसम्म अति जोखिममा रहेका १६ वटा घरहरूको भग्नावशेष हटाएको छ भने २ वटा अस्थायी टहरा निर्माण गरी हस्तान्तरण गरेको छ । सो क्षेत्रका घरहरु अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेकोले एउटा घरको भग्नावशेष हटाउन नै निकै समय लाग्ने गरेको महासचिव रोकायले बताए । आफुहरु सहित भूपू सैनिक संगठनका नेताहरुको सहयोगमा काम भइरहेको रोकायको भनाई छ ।
















प्रतिक्रिया