९ कार्तिक २०८३, सोमबार

बुधबारदेखि वर्षा र हिमपातको सम्भावना, सावधानी अपनाउन आग्रह

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि वर्षा र हिमपातको सम्भावना रहेकाले सजकता अपनाउन आग्रह गरेको छ ।

बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको असर पर्ने भएकाले बुधबारदेखि वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पोस्ट मनसुनका बेला सामान्यतया राम्रो मौसम हुने भए पनि बङ्गालको खाडी र अरब सागरमा विकसित हुने न्यून चापीय क्षेत्र तथा चक्रवातले नेपालको मौसममा असर पार्ने देखिएको नेपाल मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले बताइन् ।

उनले आगामी बिहीबारदेखि यसको प्रभाव देखिन थाले पनि शुक्रबार र शनिबार सबैभन्दा बढी प्रभाव रहने जानकारी दिइन् । सो अवधिमा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै उनले उच्च पहाडी तथा हिमाली भू–भागहरूमा बाक्लो हिमपात तथा हिमआँधी आउने सम्भावना रहेकोले पर्वतारोहण वा उच्च क्षेत्रमा नजान आग्रह गरिएको बताइन् ।

त्यस्तै, ठूलो बाढी आउने सम्भावना कम भए पनि दुर्गम क्षेत्र र बाटोहरूमा पहिरो जानसक्ने जोखिम रहने विभागले जनाएको छ ।

पाकेको धानबालीमा मध्यम वर्षा वा हावाहुरीले असर पुर्‍याउन सक्ने हुनाले कृषि क्षेत्रमा र विशेषगरी शुक्रबार र शनिबार विशेष सावधानी अपनाउनुपर्ने वरिष्ठ मौसमविद् पोखरेलले बताइन् ।