नयाँ दिल्ली, २० जेठ । भारतका एकजना नवनियुक्त मन्त्रीको मंगलबार बिहान राजधानी नयाँ दिल्लीमा भएको कार दुर्घटनामा परी निधन भएको समाचार छ ।
भारतीय सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार उहाँले यही जेठ १२ गते मन्त्री पदको शपथ लिनुभएको थियो ।
भारतमा गठित सो नवनियुक्त मन्त्रिमण्डलका ग्रामीण विकास र खानेपानी तथा सरसफाईसम्बन्धी मन्त्री गोपीनाथ मुन्डेको कार दुर्घटनाका क्रममा मङ्गलबार बिहान निधन भएको समाचारमा जनाइएको छ ।
कारमा नयाँ दिल्लीतर्फ आइरहेका उहाँलाई अर्काे एक कारले ठक्कर दिएको थियो । ठक्कर दिएपछि उहाँलाई शरीरको भित्री भागमा चोट लागेको बताइएको छ ।
अर्काे कारले उहाँको कारलाई ठक्कर दिएपछि उहाँ अत्तालिनुभएको र अस्पतालमा जान उहाँले नै आफ्नो चालकलाई भन्नुभएको भारतका अर्का मन्त्री नितिन गड्करीले जानकारी दिनुभएको छ ।
नयाँ दिल्लीस्थित एआइआइएमएस अस्पतालबाहिर सम्वाददाताहरुलाई मन्त्री गड्करीले भन्नुभयो– सुरुमा धेरै चोट लागेजस्तो लागेको थिएन, कारले ठक्कर दिएपछि उहाँले नै आफ्नो चालकलाई अस्पताल जाउँ भन्नुभएको थियो ।
भारतीय जनता पार्टीका नेता तथा भारतका एकजना वरिष्ठ राजनीतिज्ञ ६४ वर्षीय मुन्डे एक इमान्दार राजनीतिकर्मीका रुपमा परिचित हुनुहुन्थ्यो ।
उहाँले पश्चिम महाराष्ट्रबाट गत आमनिर्वाचनमा प्रतिनिधित्व गर्नुभएको थियो । उहाँ महाराष्ट्रको उपमुख्यमन्त्रीका रुपमा पनि काम गरिसक्नुभएको थियो ।
उहाँ महाराष्ट्र राज्यमा सन् १९९५ देखि १९९९ सम्म सो पदमा रही सेवा गर्नुभएको थियो । उहाँ सो राज्यका एक लोकप्रिय नेताका रुपमा रहनुभएको बताइएको छ ।
सो निधनप्रति भारतीय नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ– उहाँको निधनले मलाई निकै नै स्तब्ध र दुःखी तुल्याएको छ ।
उहाँको निधनले वर्तमान सरकार र भारतलाई नै ठूलो क्षति पुगेको प्रधानमन्त्री मोदीले बताउनुभएको छ । उहाँले आफ्नो ट्वीटर अकाउन्टमार्पmत मन्त्री मुडेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
उक्त अस्पतालका एकजना चिकित्सकले मुन्डेलाई सो अस्पतालको आकस्मिक कक्षमा ल्याएको केही क्षणमै मृतक घोषणा गरिएको जानकारी दिएका छन् ।
उक्त अस्पतालका प्रवक्ता अमित गुप्ताले भन्नुभएको छ– उहाँलाई अस्पतालमा ल्याउँदै मुटुको धड्कन र नाडीको चालमा कमी आइसकेको थियो । केही क्षणको प्रयासपछि सासको गति रोकिन पुग्यो– उहाँको भनाई छ ।
मंगलबार बिहान ७.३० बजे उहाँलाई मृत घोषणा गरिएको प्रवक्ता गुप्ताले जानकारी दिनुभएको छ । शरीरको बाहिरी भागमा कुनै चोटपटक नदेखिएपनि उहाँलाई बचाउने चिकित्सकहरुको प्रयास सफल हुन सकेन– उहाँले बताउनुभयो ।
रासस / एएफपी














प्रतिक्रिया