
काठमाडौं, ७ असार । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ गफाडी भनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले जवाफ फर्काएका छन् ।
मन्त्री किराँतीले श्रम संस्कृति पद मार्ग निर्माणका लागि बजेट उपलब्ध गराउने बाचा गरेको तर पूरा नभएको भन्दै मेयर साम्पाङले मन्त्री किराँतीलाई गफाडी भएका थिए ।
‘सुदन किराँती पनि गफाडी रैछन् ! श्रम संस्कृति पद मार्ग निर्माणको बाचा गरेका थिए पुराएनन् ! बोलेको पूरा गर्नु है ! बिरुवा रोप्न चाहिँ आउँदा हुन्छ ! वेल्कम छ ! बधाई छ जे होस् ! जय पितापूर्खा !’ हर्कले सामाजिक सञ्जालमा लेखेका छन् ।

बाचा पूरा नगरेको भन्दै हर्कले गफाडी भनेपछि मन्त्री किराँतीले पनि सामाजिक सञ्जालमार्फत नै फुफ्रेबाट साँगुरी भन्ज्याङ्ग भेडेटार पदमार्ग निर्माणको लागि ५० लाख विनियोजन भएको जानकारी गराएका छन्।
‘हुन त हामीले एक करोड पचास लाखको प्रस्ताव गरी अर्थ मन्त्रालय पठाएका थियौँ । सायद बजेट अभावको कारण त्यस्तै हुन गयो होला । अझ मलाई त यो पदमार्गको नाम तराई मधेश एकता पदमार्ग राख्न मन थियो किनकी पूर्खाले जीवनको लागि नुन तेल ढाकर बोक्दा पसिना बगाएका थिए,’ उनले जवाफ फर्काएका छन् ।
उनले यो पदमार्गको नाम तराई मधेश एकता पदमार्ग राख्न मन भएको उल्लेख गर्दै पूर्खाले जीवनको लागि नुन तेल ढाकर बोक्दा पसिना बगाएका बताएका छन्।
















प्रतिक्रिया