–धर्मराज तिमिल्सीना
कहिलेकाहीँ एउटा निर्णयले दुईवटा जीवन बदल्छ, एउटाको जीवनमा आशा फर्काउँछ, अर्कोलाई जीवनभरका लागि मानवताको अर्थ सिकाउँछ । जीवनमा केही भेटहरू संयोग हुन्छन्, केही सम्बन्धहरू परिस्थितिले बनाउँछन्, तर केही मानिसहरू यस्ता हुन्छन्, जसले आफ्नो जीवनको सबैभन्दा कठिन मोडमा लिएको एउटा निर्णयले अरूको जीवनमा आशाको दियो बालिदिन्छन् । उनीहरूले गरेका कामको मूल्य पैसामा तौलिन सकिँदैन, उनीहरूको योगदानलाई शब्दमा समेट्न सकिँदैन र उनीहरूको मानवीय संवेदनालाई कुनै पद, प्रतिष्ठा वा सम्पत्तिले मापन गर्न सक्दैन ।
राधिका आमा त्यस्तै एउटा जीवन्त उदाहरण हुनुहुन्छ । उहाँसँगको संवादमा मैले उहाँको जीवनका अनेकौँ पाटाहरू सुन्ने अवसर पाएँ । तीमध्ये एउटा प्रसङ्गले मलाई लामो समयसम्म सोच्न बाध्य बनायो । त्यो केवल कसैलाई सहयोग गरेको कथा थिएन । त्यो त पीडाले थिलथिलो भएको एउटा जीवनलाई आफ्नो जीवनसँग जोड्ने, समाजका स्थापित मान्यतामाथि प्रश्न उठाउने र मानवतालाई व्यवहारमै प्रमाणित गर्ने एउटा असाधारण निर्णयको कथा थियो । मैले उहाँसँगको संवादमा सुनेको त्यही निर्णयलाई यहाँ शब्दमा उतार्ने प्रयास गरेको छु । यो कथा पढ्दै गर्दा तपाईंलाई पनि लाग्न सक्छ मानिस ठूलो उसको सम्पत्तिले होइन, अरूको दुःख देख्दा उसको मनमा पलाउने संवेदनाले बनाउँदो रहेछ ।

सिँढी चढ्दै गरेको जीवन, पछाडि छुट्दै गरेका दिनहरू
राधिका आमाको जीवनको त्यो अध्याय सुरु हुँदा उहाँले आफ्नो जीवनको लामो यात्रा पार गरिसक्नुभएको थियो । उहाँको विवाह भएको ३७ वर्ष बितिसकेको थियो । उहाँ जीवनका अनेकौँ सुखदुःख, अनुभव र सम्झनाहरू बोकेर अगाडि बढिरहनुभएको थियो । उहाँले सुनाउनुभएको एउटा प्रसङ्गले जीवनको वास्तविकता कति अनौठो छ भन्ने अनुभूति गराउँछ । गाडीमा यात्रा गर्दा झ्यालबाट बाहिर हेर्दै गर्दा उहाँलाई सडकछेउका रुखहरू पछाडि छुट्दै गएको जस्तो लाग्थ्यो । समय पनि त्यसरी नै बितिरहेको थियो– दिन, महिना र वर्षहरू पछाडि छुट्दै गइरहेका थिए । मानिसका स्मृतिमा विगतका दिनहरू बाँकी रहन्छन्, भविष्यका सपना मनमा सजिन्छन्, तर वर्तमानचाहिँ ती दुईबीच दुरी बनिरहेको हुन्छ। जीवनको यही यात्रामा उहाँको भेट एक दिन केपी शर्मा ओलीसँग भयो । त्यो भेट सामान्य थियो, तर त्यसले एउटा असामान्य सम्बन्धको ढोका खोलेछ ।
पाटन इन्जिनियरिङ क्याम्पसको एउटा कार्यक्रममा उहाँले पहिलोपटक केपी शर्मा ओलीलाई देख्नुभएको रहेछ । तत्कालीन समयमा जेलबाट छुटेका राजनीतिक नेताहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा उहाँको उपस्थिति थियो । त्यतिबेला केपी शर्मा ओलीसँग उहाँको भेट भयो, केही कुराकानी भयो । राधिका आमा पनि त्यस समय राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अखिल नेपाल महिला संघ र पार्टीको ललितपुर जिल्ला कमिटीमा रहेर उहाँले काम गर्नुभएको थियो । जनचेतना फैलाउने, जनतालाई प्रजातन्त्रबारे सचेत बनाउने र पार्टी संगठन निर्माण गर्ने काममा उहाँ सक्रिय हुनुहुन्थ्यो । त्यतिबेला उहाँहरूका लागि राजनीति केवल पद प्राप्त गर्ने माध्यम थिएन । त्यो एउटा विश्वास थियो, एउटा आन्दोलन थियो र परिवर्तनको सपना थियो । उहाँले सुनाउनुभएअनुसार, तत्कालीन नेताहरूप्रति उहाँहरूको ठूलो श्रद्धा र सम्मान थियो । नेताहरूलाई भेट्न पाउनु, उनीहरूसँग कुराकानी गर्न पाउनु र उनीहरूको आन्दोलनबारे जान्न पाउनु पनि उहाँहरूका लागि महत्त्वपूर्ण कुरा थियो । तर समयसँगै मानिसहरूलाई हेर्ने दृष्टिकोण बदलिँदो रहेछ । राजनीतिक आस्था, विश्वास र सम्मानका बीच पनि मानिसको वास्तविक परिचय उसको व्यवहारबाट खुल्दै जाँदो रहेछ । राधिका आमाको जीवनमा पनि त्यस्तै एउटा मोड आयो । जब एउटा भेटले जीवनको अर्को ढोका खोल्यो राधिका आमाले सुनाउनुभए अनुसार, केपी सरसँगको भेटपछि उहाँहरूबीच चिनजान बढ्दै गयो । पछि पार्टीले उहाँहरू दुवैलाई विवाह गराउने उद्देश्यले भेटघाटको व्यवस्था गरेको थियो । त्यो समय केपी सरको जीवन आजको जस्तो सहज थिएन । उहाँले करिब १४ वर्ष जेलजीवन बिताइसक्नुभएको थियो । जेलबाट बाहिर निस्कँदा उहाँको स्वास्थ्य कमजोर थियो । धनसम्पत्ति थिएन, स्थायी व्यवसाय थिएन, आर्थिक अवस्था बलियो थिएन । लामो जेलजीवनले शरीरलाई कमजोर बनाएको थियो र जीवनका सम्भावनाहरू पनि सीमित बनाइदिएको थियो । राधिका आमाले पहिलोपटक उहाँलाई भेट्दा उहाँको स्वास्थ्य अवस्था अत्यन्त कमजोर देख्नुभएको थियो । केपी सरले आफ्नो अवस्थाबारे स्पष्ट कुरा राख्नुभएको थियो । उहाँले भन्नुभएको थियो मेरो स्वास्थ्य राम्रो छैन । खानबस्ने ठेगान पनि छैन । शरीर कमजोर छ । यस्तो अवस्थामा तिमीले विवाह गर्ने निर्णय नगर । त्यो केवल विवाहका लागि गरिएको सामान्य आग्रह थिएन । आफ्नो वास्तविकता लुकाएर कसैलाई जीवनमा तान्नेभन्दा आफ्नो कमजोरीसमेत खुलस्त राख्ने प्रयास थियो । अझ महत्त्वपूर्ण कुरा, उहाँले राधिका आमालाई निर्णय गर्न पर्याप्त समय दिन चाहनुभएको थियो । उहाँले भन्नुभएको आशय थियो तिमीले सोचविचार गरेर निर्णय गर । मेरो जीवन सहज छैन । तिमीले आफ्नो भविष्यबारे राम्रोसँग विचार गर्नुपर्छ ।
कल्पना गरौँ त, त्यो समयको सामाजिक परिवेशमा एउटी महिलाका अगाडि कस्तो प्रश्न उभिएको थियो ! एकातिर आफ्नो भविष्य थियो । अर्कोतिर १४ वर्ष जेलजीवन बिताएको, स्वास्थ्य कमजोर भएको, आर्थिक आधार नभएको र राजनीतिक संघर्षबाट थकित एउटा मानिसको जीवन थियो ।
कल्पना गरौँ त, त्यो समयको सामाजिक परिवेशमा एउटी महिलाका अगाडि कस्तो प्रश्न उभिएको थियो ! एकातिर आफ्नो भविष्य थियो । अर्कोतिर १४ वर्ष जेलजीवन बिताएको, स्वास्थ्य कमजोर भएको, आर्थिक आधार नभएको र राजनीतिक संघर्षबाट थकित एउटा मानिसको जीवन थियो । विवाह भनेको केवल दुई व्यक्तिको भेट वा सामाजिक संस्कार पूरा गर्नु मात्र होइन । त्यो दुई जीवनलाई एउटै यात्रामा जोड्ने निर्णय हो । त्यहाँ सुखका सम्भावनासँगै दुःखका जोखिम पनि हुन्छन् । भविष्यको सुनिश्चितता मात्र होइन, अनिश्चिततालाई स्वीकार गर्ने साहस पनि चाहिन्छ । राधिका आमाका अगाडि पनि यस्तै अनिश्चितता थियो । उहाँ चाहनुहुन्थ्यो भने त्यो सम्बन्धबाट पछि हट्न सक्नुहुन्थ्यो । आफ्नो जीवन सहज बनाउन सक्ने अरू विकल्पहरू रोज्न सक्नुहुन्थ्यो। कसैले उहाँलाई आफ्नो जीवनको सम्पूर्ण सुख त्याग्न बाध्य बनाएको पनि थिएन । तर उहाँले फरक बाटो रोज्नुभयो । उहाँले कमजोर शरीर देखेर मानिसलाई अस्वीकार गर्नुभएन । सायद त्यहीँबाट सुरु भएको थियो राधिका आमाको साहसिक जीवनको यात्रा ।
विशेष गरी विवाहजस्तो जीवनपर्यन्त प्रभाव पार्ने निर्णयमा यी विषयलाई बेवास्ता गर्न सकिँदैन । तर के जीवनको सम्पूर्ण मूल्य सुखसुविधाले मात्रै निर्धारण गर्छ ? के कुनै मानिसको वर्तमान कमजोरी नै उसको सम्पूर्ण परिचय हो ?
केपी सरले आफ्नो अवस्थाबारे सबै कुरा बताएपछि राधिका आमाले तत्काल निर्णय सुनाउनुभएन । उहाँले दुई–चार दिनको समय माग्नुभयो त्यसपछि उहाँले आफ्नो मनमा उठेका प्रश्नहरूबारे सोच्नुभयो । जीवनमा सुखसुविधा महत्त्वपूर्ण हुन्छन् । घर, परिवार, स्वास्थ्य, आर्थिक सुरक्षा र भविष्यप्रतिको विश्वास मानिसका स्वाभाविक चाहना हुन् । विशेष गरी विवाहजस्तो जीवनपर्यन्त प्रभाव पार्ने निर्णयमा यी विषयलाई बेवास्ता गर्न सकिँदैन । तर के जीवनको सम्पूर्ण मूल्य सुखसुविधाले मात्रै निर्धारण गर्छ ? के कुनै मानिसको वर्तमान कमजोरी नै उसको सम्पूर्ण परिचय हो ? के आर्थिक अवस्था कमजोर भएको मानिससँग जीवन बिताउनु भनेको भविष्यका सबै सम्भावनाको ढोका बन्द गर्नु हो ? के प्रेमको अर्थ केवल सहज अवस्थामा साथ दिनु हो, कि कठिन परिस्थितिमा पनि अर्को मानिसलाई बुझ्ने र स्वीकार गर्ने क्षमता हो ? राधिका आमाको निर्णयको गहिराइ यिनै प्रश्नहरूसँग जोडिएको देखिन्छ । उहाँले उहाँको संघर्ष, विचार, जीवनप्रतिको दृष्टिकोण र सम्भावनालाई पनि हेर्नुभयो । उहाँलाई केपी सरको शारीरिक कमजोरीभन्दा पनि उहाँभित्रको मानिस महत्त्वपूर्ण लाग्यो । जीवनका कठिनाइहरूले थकाएको शरीरभित्र पनि एउटा संघर्षशील व्यक्तित्व थियो । त्यो व्यक्तित्वलाई बुझ्ने र त्यससँग जीवन जोड्ने निर्णय उहाँले गर्नुभयो । केपी सरलाई जीवनसाथीका रूपमा स्वीकार गर्नुभयो । त्यो निर्णयमा भविष्यको निश्चितता थिएन। सुखको ग्यारेन्टी थिएन । सम्पन्न जीवनको वाचा थिएन । थियो त केवल एउटा विश्वास । कहिलेकाहीँ प्रेम भनेको कसैले हामीलाई के दिन सक्छ भनेर हिसाब गर्नु होइन; ऊ जीवनको कठिन मोडमा छ भन्ने थाहा पाएर पनि उसको हात समात्ने साहस गर्नु हो । राधिका आमाको निर्णयले यही मानवीय पक्षलाई उजागर गर्छ ।
एउटा विवाह, दुई फरक संसार र साझा संघर्ष
राधिका आमाले सुनाउनुभएको विवरणअनुसार, उहाँहरूको विवाह पनि परम्परागत सामाजिक विवाहभन्दा फरक थियो । उहाँले आफ्नो पहिलो वैवाहिक भेटघाटलाई सम्झिँदै सुनाउनुभएको थियो कि उहाँहरूको विवाह पार्टीगत र सामाजिक परिवेशमा सम्पन्न भएको थियो । २०४४ साल फागुन १० गते ललितपुरको कुपण्डोलमा रहेको एकजना साथीको घरमा उहाँहरूको विवाह भएको थियो । विवाहमा पार्टीका साथीहरू उपस्थित थिए । विवाह भएको केही दिनपछि उहाँको घरमा आफन्तहरू पनि आएका थिए । त्यो विवाह केवल दुई व्यक्तिबीचको सम्बन्धको सुरुवात थिएन । त्यो राजनीतिक संघर्ष, सामाजिक जिम्मेवारी र व्यक्तिगत जीवनलाई एउटै यात्रामा जोड्ने सुरुवात पनि थियो । राधिका आमा नेवार परिवारमा जन्मनुभएको थियो । उहाँले सानैदेखि संघर्ष र अभावको अनुभव गर्नुभएको थियो । उहाँले पढाइलेखाइ गर्नुभयो, जागिर खानुभयो र आफ्नै जीवनलाई अघि बढाउन प्रयास गर्नुभयो । तर विवाहपछि उहाँले रोज्नुभएको जीवन सहज थिएन । उहाँले सुनाउनुभएको एउटा प्रसङ्ग अत्यन्त मार्मिक छ । विवाह गर्नुअघि केपी सरले आफ्ना कमजोरी र अभावबारे स्पष्ट बताउनुभएको थियो । विवाहपछि राधिका आमाले ती कुरा केवल सुन्नुभएन, व्यवहारमा पनि अनुभव गर्नुभयो । उहाँहरू बस्ने ठाउँको स्थायित्व थिएन । कहिले एकजना साथीको घरमा, कहिले अर्काको घरमा बस्नुपर्ने अवस्था थियो । पार्टीका साथीहरूले उपलब्ध गराएका ठाउँहरूमा गुजारा चलाउनुपर्ने अवस्था थियो । जीवनका सामान्य आवश्यकताहरू पूरा गर्न पनि संघर्ष गर्नुपर्थ्यो । खाने सामानको भारि बोकेर कार्यालयबाट डेरा सम्म हिडेर पुग्नु पर्थ्यो तर राधिका आमाले आफ्नो निर्णयलाई केवल विवाहको दिनमा सीमित राख्नुभएन । उहाँले त्यस निर्णयसँग जोडिएका जिम्मेवारीहरूलाई पनि स्वीकार गर्नुभयो । उहाँले विगतका कुरा सम्झँदै सुनाउनुभएको थियो कि विवाह गर्न आउँदा उहाँले केही कपडा र सामान साथमा ल्याउनुभएको थियो । सम्पत्तिका नाममा त्यति धेरै केही थिएन । तर आफूसँग भएको थोरै सामानसमेत उहाँले सुरक्षित राख्नुभयो । यो प्रसङ्ग सुन्दा एउटा कुरा स्पष्ट हुन्छ, मानिसको जीवनमा ठूला निर्णयहरू प्रायः एउटा क्षणमा लिइन्छन्, तर तिनको वास्तविक परीक्षा त्यसपछिका हजारौँ दिनमा हुन्छ । निर्णय गर्न एक क्षण लाग्न सक्छ । त्यसलाई जीवनभर व्यवहारमा उतार्न भने धैर्य, विश्वास र समर्पण चाहिन्छ । राधिका आमाले आफ्नो निर्णयलाई जीवनको व्यवहारमा उतार्नुभयो ।
रोगसँग जुधिरहेको शरीर, साथ छोड्न नसक्ने मन
राधिका आमाको कथाको सबैभन्दा भावुक पक्ष केपी सरको स्वास्थ्य अवस्थासँग जोडिएको छ । उहाँले सुनाउनुभएको विवरणअनुसार, जेलबाट बाहिर आएपछि केपी सरको स्वास्थ्य अत्यन्त कमजोर थियो । विभिन्न रोगले शरीरलाई गाँजेको थियो । उपचारका लागि अस्पताल धाउनुपर्ने अवस्था थियो । उहाँलाई अल्सरको समस्या थियो । कान र घाँटीसम्बन्धी समस्याका लागि पनि उपचार गर्नुपर्थ्यो । रक्तचाप र मुटुसम्बन्धी समस्याहरूको उपचारसमेत भइरहेको थियो । राधिका आमाले उहाँको स्वास्थ्यको अवस्था देख्नुभएको थियो । उहाँले त्यो कमजोरीलाई केवल बाहिरबाट देख्नुभएन, त्यससँग जोडिएका पीडा र कठिनाइलाई नजिकबाट अनुभव गर्नुभयो । एउटा मानिसको स्वास्थ्य बिग्रँदा त्यसको असर उसको शरीरमा मात्रै पर्दैन । परिवारको दैनिक जीवनमा पर्छ, भविष्यका योजनामा पर्छ र साथमा रहेका मानिसको मनमा पनि पर्छ । राधिका आमाका लागि त्यो अवस्था पनि सजिलो थिएन । तर उहाँले केपी सरलाई केवल बिरामी मानिसका रूपमा हेर्नुभएन । उहाँले उहाँलाई जीवनसाथीका रूपमा स्वीकार गर्नुभएको थियो । त्यसैले स्वास्थ्य कमजोर भएको अवस्थामा उहाँलाई एक्लै छोड्नु उहाँका लागि सहज विकल्प थिएन । उहाँले भन्नुहुन्छ विवाहको अर्थ स्वस्थ शरीरसँग मात्रै जीवन बिताउनु होइन । रोगले थलिएको अवस्थामा पनि एकअर्काको पीडा बुझ्ने, उपचारमा साथ दिने र जीवनको कठिन यात्रामा सहयात्री बन्ने प्रतिबद्धता पनि हो । राधिका आमाको भूमिका यहीँबाट अझ गहिरो देखिन्छ । उहाँले जीवनसाथीको कमजोरीलाई आफ्नो दायित्वबाट भाग्ने कारण बनाउनुभएन । बरु उहाँको जीवन सहज बनाउन आफूले सक्ने सहयोग गर्नुभयो । कसैको राम्रो समयको साथी बन्नु सजिलो हुन सक्छ; तर उसको कमजोर समयलाई आफ्नै जिम्मेवारी ठानेर साथ दिन सक्नु नै सम्बन्धको वास्तविक परीक्षा हो । राधिका आमाको जीवनकथामा यही भाव बारम्बार देखिन्छ ।
प्रेमको अर्थ केवल सुखमा सँगै हाँस्नु होइन
हामीमध्ये धेरैले प्रेमलाई सुन्दर क्षणहरूसँग जोडेर बुझ्छौँ । सँगै हाँस्नु, घुम्नु, रमाउनु, सुखद भविष्यका सपना देख्नु र जीवनलाई सहज बनाउनु यी सबै प्रेमका सुन्दर पक्ष हुन् । तर जीवन सधैँ एउटै लयमा बग्दैन । कहिले आर्थिक अभाव आउँछ, कहिले स्वास्थ्यले साथ दिँदैन, कहिले सामाजिक परिस्थितिले कठिन परीक्षा लिन्छ र कहिले भविष्यको कुनै निश्चितता हुँदैन । त्यस्तो अवस्थामा प्रेमको वास्तविक अर्थ प्रकट हुन्छ । राधिका आमाले सुनाउनुभएको कथामा एउटा महत्त्वपूर्ण पक्ष छ, उहाँले केपी सरको जीवनमा प्रवेश गर्दा उहाँसँग प्रशस्त सम्पत्ति थिएन । उहाँको स्वास्थ्य कमजोर थियो । जीवनको भविष्य सहज देखिँदैनथ्यो। तैपनि उहाँले जीवनसाथी बन्ने निर्णय गर्नुभयो । ताकी आजसम्म पनि केपी सरले एउटा सारी पनि किनिदिनु भएको छैन । यो निर्णयलाई केवल त्यागको दृष्टिले मात्र हेर्नु पर्याप्त हुँदैन । यसमा एउटा महिलाको स्वतन्त्र निर्णय गर्ने क्षमता पनि छ । उहाँले परिस्थितिको यथार्थ बुझेर निर्णय गर्नुभयो । उहाँलाई अर्को व्यक्तिले आफ्नो कमजोरी लुकाएर भ्रममा पारेको थिएन । उहाँले जोखिमबारे थाहा पाएर पनि सम्बन्ध रोज्नुभएको थियो । उहाँले सहज जीवनको सम्भावनाभन्दा एउटा संघर्षशील मानिससँगको जीवनलाई रोज्नुभयो । यो निर्णयले उहाँलाई केवल कसैको जीवनसाथी बनाएको होइन, आफ्नै विश्वासप्रति दृढ रहने व्यक्ति पनि बनाएको छ । यहाँ एउटा कुरा स्पष्ट हुनुपर्छ, सबै मानिसले आफ्नो सुख त्याग्नुपर्छ वा दुःखपूर्ण सम्बन्धलाई नै प्रेमको प्रमाण मान्नुपर्छ भन्ने होइन । तर कसैले वास्तविकता बुझेर, आफ्नै इच्छाले, अर्को व्यक्तिको साथ रोज्छ भने त्यो निर्णयको सम्मान हुनुपर्छ ।
राधिका आमाको निर्णयभित्र लुकेको सामाजिक सन्देश
राधिका आमाको कथालाई व्यक्तिगत जीवनको एउटा प्रसङ्गका रूपमा मात्र बुझ्दा यसको महत्त्व सीमित हुनसक्छ । यस कथाभित्र हाम्रो समाजको एउटा पुरानो सोचसँग सम्बन्धित प्रश्न पनि छ ।
राधिका आमाको कथालाई व्यक्तिगत जीवनको एउटा प्रसङ्गका रूपमा मात्र बुझ्दा यसको महत्त्व सीमित हुनसक्छ । यस कथाभित्र हाम्रो समाजको एउटा पुरानो सोचसँग सम्बन्धित प्रश्न पनि छ । हाम्रो समाजमा विवाहका विषयमा कुरा हुँदा प्रायः आर्थिक अवस्था, घरपरिवार, सम्पत्ति, सामाजिक प्रतिष्ठा र भविष्यको सुनिश्चिततालाई प्राथमिकता दिइन्छ । यी कुरा महत्त्वपूर्ण छन् । जीवन चलाउन आर्थिक आधार आवश्यक हुन्छ । तर मानिसको सम्पूर्ण मूल्यलाई यिनै आधारमा सीमित गरियो भने हामीले उसको व्यक्तित्व, संघर्ष, विचार र सम्भावनालाई बेवास्ता गरिरहेका हुन्छौँ । कसैको आज कमजोर छ भन्दैमा उसको भोलि पनि कमजोर नै हुन्छ भन्ने छैन । कसैसँग अहिले सम्पत्ति छैन भन्दैमा उसमा जीवन निर्माण गर्ने क्षमता छैन भन्ने हुँदैन । कसैको शरीर बिरामी छ भन्दैमा उसको विचार, भावना र व्यक्तित्वको मूल्य घट्दैन । राधिका आमाले केपी सरको जीवनलाई हेर्दा यिनै मानवीय पक्षलाई महत्त्व दिनुभएको देखिन्छ । उहाँले समाजले मानिसलाई मूल्याङ्कन गर्ने बाहिरी आधारभन्दा पर पुगेर निर्णय गर्नुभयो । त्यसैले यो कथा केवल एउटा विवाहको कथा होइन । यो मानिसलाई उसको वर्तमान अवस्थाले मात्र नाप्नु हुँदैन भन्ने सन्देश पनि हो । यसले अर्को पक्षलाई पनि उजागर गर्छ, महिलाहरूलाई केवल कसैको जीवनमा साथ दिने पात्रका रूपमा मात्र हेर्नु हुँदैन । उनीहरूका आफ्नै विचार हुन्छन्, आफ्नै मूल्य हुन्छन् र आफ्नै निर्णय गर्ने क्षमता हुन्छ । राधिका आमाले आफ्नो जीवनको बाटो आफैँ रोज्नुभयो। उहाँले त्यस निर्णयको जिम्मेवारी पनि स्वीकार गर्नुभयो । यो उहाँको व्यक्तिगत साहस हो ।
नदीको उद्गमजस्तै एउटा सानो निर्णय राधिका आमाले आफ्नो अनुभव सुनाउँदै गर्दा मलाई एउटा कुरा बारम्बार सम्झना आइरह्यो । ठूला नदीहरूको उद्गम प्रायः सानो मूलबाट हुन्छ । सुरुमा त्यो मूल सामान्य देखिन्छ । त्यसको शक्ति तत्काल बुझिँदैन । तर समयसँगै त्यही मूलले बाटो बनाउँछ, खोलामा परिणत हुन्छ र अन्ततः विशाल नदीका रूपमा बग्छ । मानिसको जीवनमा पनि कतिपय निर्णय त्यस्तै हुन्छन् । निर्णय लिँदाको क्षणमा त्यसको परिणाम कति ठूलो हुनेछ भन्ने कसैलाई थाहा हुँदैन । भविष्यका सबै पाना कसैले पढ्न सक्दैन । तर मानिसले कुन मूल्यका आधारमा निर्णय गर्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । राधिका आमाले केपी सरको जीवनमा प्रवेश गर्ने निर्णय गर्दा भविष्यको सम्पूर्ण चित्र उहाँका अगाडि थिएन । उहाँलाई आगामी दिनहरू कस्ता हुनेछन् भन्ने थाहा थिएन । स्वास्थ्य, आर्थिक अवस्था र जीवनका अन्य चुनौतीहरू कति लामो समयसम्म रहनेछन् भन्ने पनि निश्चित थिएन । तर उहाँले एउटा कुरा रोज्नुभयो आफूले विश्वास गरेको मानिससँग जीवन बाँड्ने बाटो । त्यस निर्णयको वास्तविक अर्थ त्यसपछिका दिनहरूमा खुल्दै गयो । अभावका दिन आए । स्वास्थ्यका चुनौती आए । जीवनलाई सहज बनाउनुपर्ने अनेकौँ जिम्मेवारी आए । तर उहाँले आफ्नो निर्णयलाई केवल विगतको एउटा घटनाका रूपमा छोड्नुभएन । त्यसलाई आफ्नो जीवनको व्यवहारमा उतार्नुभयो । यही कारण उहाँको कथा सुन्दा त्यो एउटा निर्णयभन्दा धेरै ठूलो लाग्छ । साहस भनेको डर नहुनु पनि होइन; भविष्य अनिश्चित छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नो विश्वास र विवेकका आधारमा निर्णय गर्न सक्नु हो । राधिका आमाको निर्णयमा त्यही साहस देखिन्छ ।
राधिका आमाको कथाले हामीलाई के सिकाउँछ?
राधिका आमासँगको संवादबाट मैले बुझेको सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने– मानिसको जीवनलाई बुझ्न उसको वर्तमान अवस्था मात्र हेरेर पुग्दैन । हामीले उसको विगत बुझ्नुपर्छ, उसले पार गरेको संघर्ष बुझ्नुपर्छ, उसको मनभित्र रहेका सपना बुझ्नुपर्छ र ऊ कस्तो भविष्य निर्माण गर्न चाहन्छ भन्ने पनि बुझ्नुपर्छ । केपी सरको जीवनको त्यो समय सहज थिएन । उहाँको स्वास्थ्य कमजोर थियो । आर्थिक आधार बलियो थिएन । जीवनको बाटो अनिश्चित थियो । तर राधिका आमाले ती अवस्थालाई मात्रै आफ्नो निर्णयको आधार बनाउनुभएन । उहाँले मानिसलाई हेर्नुभयो । उहाँले संघर्षलाई बुझ्नुभयो । उहाँले आफ्नो मनको आवाज सुन्नुभयो । अनि निर्णय गर्नुभयो । यस कथाले हामीलाई प्रेम, सम्बन्ध र जीवनसाथीको अर्थबारे सोच्न बाध्य बनाउँछ । यसले कुनै व्यक्तिको कमजोरीलाई हेरेर उसको सम्पूर्ण सम्भावनालाई अस्वीकार नगर्न पनि सिकाउँछ । धैर्य गर्न, हतारमा सम्बन्ध विच्छेद नगर्न पनि सिकाउँछ त्यसैगरी, यसले महिलाको निर्णयलाई सम्मान गर्नुपर्ने सन्देश पनि दिन्छ । कुनै महिलाले आफ्नो जीवनका विषयमा सोचविचार गरेर निर्णय गर्छिन् भने त्यो निर्णयलाई केवल भावुकता भनेर व्याख्या गर्नु उचित हुँदैन । त्यहाँ अनुभव, विवेक, मूल्य र आत्मविश्वासको गहिरो भूमिका हुन सक्छ । राधिका आमाको निर्णयमा यी सबै पक्ष देखिन्छन् । तर यस कथाको अर्को महत्त्वपूर्ण सन्देश पनि छ, मानवीय सम्बन्धलाई केवल त्यागको महिमामण्डनमा सीमित गर्नु हुँदैन । सम्बन्धमा सम्मान, विश्वास, समझदारी र पारस्परिक जिम्मेवारी पनि उत्तिकै आवश्यक हुन्छन् । राधिका आमाको निर्णयको सुन्दरता उहाँले आफ्नो जीवनका कठिनाइ स्वीकार गर्नुभयो भन्ने कुरामा मात्र छैन; उहाँले आफ्नो विवेकअनुसार जीवनको बाटो रोज्नुभयो भन्ने कुरामा पनि छ । त्यसैले उहाँको कथा अरूलाई त्यस्तै निर्णय गर्न दबाब दिने कथा भने होइन । यो त मानिसले आफ्नो जीवनमा प्रेम, विश्वास र मानवतालाई कति महत्त्व दिन सक्छ भन्ने देखाउने कथा हो ।
राधिका आमाले सुनाउनुभएको त्यो निर्णय सुन्दा म एउटा निष्कर्षमा पुगेँ, मानिसको जीवनमा सबैभन्दा मूल्यवान् कुरा सधैँ उसले के प्राप्त गर्यो भन्ने हुँदैन, कहिलेकाहीँ उसले कुन मूल्यलाई रोज्यो भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । धनसम्पत्ति जीवनका लागि आवश्यक छन् । स्वास्थ्य जीवनको आधार हो । सामाजिक प्रतिष्ठा र भविष्यप्रतिको सुरक्षा पनि मानिसका स्वाभाविक चाहना हुन् । तर यी सबै कुराको बीचमा मानवीय संवेदनाको स्थान छुट्टै हुन्छ । कसैको दुःख देखेर मन पग्लिनु एउटा कुरा हो । त्यो दुःखलाई बुझेर, परिस्थितिको यथार्थ स्वीकार गरेर, आफ्नो इच्छाले कसैको जीवनसँग जोडिने निर्णय गर्नु अर्को कुरा हो । राधिका आमाको कथामा यही दोस्रो पक्ष छ । उहाँले एउटा संघर्षशील मानिसको जीवनलाई नजिकबाट बुझ्नुभयो । उहाँको कमजोर स्वास्थ्य र कठिन आर्थिक अवस्थाबारे थाहा पाउनुभयो । भविष्य सहज नहुन सक्छ भन्ने पनि बुझ्नुभयो । तैपनि उहाँले आफ्नो निर्णय गर्नुभयो । उहाँको निर्णयले हामीलाई सम्झाउँछ, मानिसको जीवनको मूल्य उसको आजको अवस्थाले मात्रै निर्धारण गर्दैन । जीवनमा कठिनाइ हुन सक्छन्, अभाव हुन सक्छ, असफलता हुन सक्छ । तर मानिसलाई मानिस बनाउने उसको विचार, संवेदना, आत्मसम्मान र अरूसँग सम्बन्ध स्थापित गर्ने क्षमता पनि हो । राधिका आमाको जीवनको त्यो प्रसङ्ग सुनेपछि म सोच्न बाध्य भएँ हामीले आफ्नो जीवनमा मानिसहरूलाई कसरी मूल्याङ्कन गरिरहेका छौँ ? उनीहरूको सम्पत्ति हेरेर, सामाजिक हैसियत हेरेर, वर्तमानको सफलता हेरेर कि उनीहरूको वास्तविक व्यक्तित्व बुझेर ? सायद यो प्रश्न हामी सबैले आफैँलाई सोध्नुपर्छ । किनकि जीवनमा हरेक मानिसले कुनै न कुनै मोडमा निर्णय गर्नुपर्ने हुन्छ । कतिपय निर्णयले हाम्रो सुविधा बदल्छन्, कतिपयले हाम्रो भविष्य बदल्छन् र कतिपयले हाम्रो व्यक्तित्व नै परिभाषित गर्छन् । त्यसैले यो कथा लेख्नुको मेरो उद्देश्य कसैको जीवनलाई आदर्शको एउटै साँघुरो घेरामा राख्नु होइन । उहाँले आफ्नो जीवनमा गरेको निर्णयभित्र रहेको मानवीय संवेदना, आत्मविश्वास र साहसलाई पाठकसम्म पुर्याउनु हो । राधिका आमाको कथा हामीलाई एउटा कुरा सम्झाउन पर्याप्त छ, जीवनको सुन्दरता सधैँ सहज बाटोमा हुँदैन; कहिलेकाहीँ कठिन बाटो रोज्ने निर्णयभित्र पनि असाधारण सुन्दरता लुकेको हुन्छ । मानिसको जीवनमा केही निर्णयहरू इतिहासका ठूला पुस्तकमा लेखिँदैनन् । तिनको चर्चा मञ्चमा हुँदैन, तिनको सम्मानमा समारोह आयोजना गरिँदैन । तर ती निर्णयहरूले मानिसको जीवनलाई गहिरो अर्थ दिन्छन् । राधिका आमाले सुनाउनुभएको निर्णय पनि मेरो बुझाइमा त्यस्तै एउटा निर्णय महसुस भयो । एउटा महिलाले आफ्नो विवेकले रोजेको जीवनको बाटो । एउटा संघर्षशील मानिसलाई उसको कठिन समयमा स्वीकार गर्ने साहस । र सबैभन्दा महत्त्वपूर्ण कुरा मानिसलाई उसको कमजोरीभन्दा पर पुगेर हेर्न सक्ने मानवीय दृष्टि । कहिलेकाहीँ संसार बदल्न ठूलाठूला भाषण आवश्यक पर्दैनन् । एउटा मानिसलाई बुझ्ने मन, उसको पीडालाई सम्मान गर्ने हृदय र सही ठानेको बाटो रोज्ने साहस नै पर्याप्त हुन्छ । राधिका आमाको त्यो निर्णयले मलाई यही सिकाएको छ ।















प्रतिक्रिया