
कास्की, २० जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाँजा र घरेलु मदिरालाई ब्राण्डिङ गरेर बजारमा बेच्नुपर्ने बताएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुकमा आयोजित अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवमा उनले गाँजाबाट औषधि र डाँठबाट धागोको कच्चा पदार्थ निकाल्न सकिने उल्लेख गर्दै यसलाई ब्राण्डिङ गर्नुपर्ने बताएका हन् ।
‘सम्भाव्यता अध्ययन गरेर औषधिजन्य प्रयोजनका लागि गाँजाको खेती खुला गर्नुपर्छ, यसका लागि कानून र नियमनकारी निकाय चाहिन्छ,’ मुख्यमन्त्री पाण्डेले भने, ‘गाजाँ खेतीलाई वैधानिक बनाउन सकियो भने बाँझो रहेको जग्गाको सदुपयोग हुन्छ, आम्दानीको ठूलो स्रोत बन्छ ।’
संघ सरकारले नीति तथा कार्यक्रममा गाँजा खेतीको अध्ययन गर्ने विषय समेटेकामा उनले खुसी व्यक्त गरेका छन् ।
यस्तै, उनले घरेलु मदिरालाई पनि गुणस्तर कायम गरेर बजारमा सहज बिक्रीवितरण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । ‘घरेलु मदिरा लुकाएर भए पनि उत्पादन भइरहेकै छ, प्रयोग पनि भइरहेको छ, अब यसलाई ब्राण्डिङ गर्नतिर लाग्नुपर्छ,’ उनले भने, ‘पाहुना र पर्यटकलाई विदेशी महँगो रक्सी होइन, स्थानीय उत्पादन चखाउनुपर्छ ।’
विदेशीले नेपालकै जस्तै घरेलु मदिरालाई ब्राण्डिङ गरेर अरु देशमा समेत पठाइरहेको उनको भनाइ थियो ।













प्रतिक्रिया