
काठमाडौं, १८ जेठ । चार दिने भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारत सीमा समस्या र हवाई रुटको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरेका छन् ।
छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले सीमा समस्याहरूका विषयमा द्विपक्षीय कूटनीतिक संयन्त्रमार्फत समाधान गर्नको लागि भारतलाई अनुरोध गरेका छन् ।
यस्तै, प्रधानमनत्री प्रचण्डले दुईदेशबीच नयाँ हवाई रुटका बारेमा सकारात्मक छलफल भएको जानकारी दिएका छन् । तर, त्यसबारे कुनै निष्कर्ष ननिस्केको उनको भनाइ छ ।
यद्यपि, उनले भारतसँग निकै महत्वपूर्ण सहमति भएको भन्दै यसले मुलुकको विकासका थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री पैचण्डले दुईदेशबीच नेपाल भारत पारवहन सम्झौता नवीकरण गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् ।
त्यस्तै, सीमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापासम्म पुर्याउने सहमति भएको छ भने चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउनेलगायत सहमति भएको छ ।
मोदीसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् ।
त्यसअघि आज बिहीबार नै प्रचण्डले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्दै पुष्पहार अर्पण गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड भारतको भ्रमण सम्पन्न गरेर जेठ २० गते स्वदेश फर्कने कार्यक्रम छ ।













प्रतिक्रिया