
काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ठूला तीन दलका शीर्ष नेताहरूले संसदको अधिकार हनन् गरेको आरोप लगाएका छन् ।
संसद बैठकमा सांसदले बोलेको कुरा संसदको रेकर्डबाट हटाउन तीन दलका शीर्ष नेताले सहमति गर्नु संसदको हनन् भएको बताउँदै उनले अब यस्तो प्रवृत्ति सहेर बस्न नहुने बताएका हुन् ।
आज सोमबार ललितपुरमा नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर २ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले प्रमुख तीन दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बसेर सांसदले बोलेका कुरा हटाउने निर्णय संसदबाहिर गर्नु आपत्तिजनक रहेको समेत बताएका छन् ।
एमाले र माओवादीको लहलहैमा लागेर कांग्रेसले यस विषयमा सहमति जनाउनु उचित नभएको धारणा व्यक्त गर्दै उनले कांग्रेस सच्चिएर अगाडि बढ्नु जरुरी रहेको बताएका छन् ।
कार्यक्रममा उनले आफ्नो पद धरापमा परे पनि पार्टी सुधारको अभियानलाई अघि बढाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।













प्रतिक्रिया