
काठमाडौं, १४ जेठ । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई थप बलियो बनाउनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको उद्देश्यलाई प्रमुख प्रतिपक्षी दल एमालेले पनि सोही रुपमा बुझेको उनको भनाइ छ ।
‘छिमेकी देशमात्रै होइन, हाम्रो अत्यन्त महत्वपूर्ण मुलुक भारत हो । द्धिपक्षीय व्यापारका हिसाबले, लगानीका हिसाबले, आर्थिक–सांस्कृतिक हिसाबले भारतसँगको सम्बन्ध राम्रो छ, ऐतिहासिक छ, फराकिलो छ । यसका बहुआयामिक अवस्था छ । यो बुहुआयामिक सम्बन्धलाई हामीले जहिले पनि प्राथामिकताको साथ लिएका छौं,’ नेता भट्टराईले भने, ‘अहिलेका प्रधानमन्त्रीले पनि आफू प्रधानमन्त्री भएपछि आफ्नो भारत भ्रमण ऐतिहासिक र उपलब्धिमूलक बनाउनेछु भनेर भनिसक्नुभएको छ । यस सन्दर्भमा विपक्षी दलको हिसाबले ऐतिहासिक हुनेछ भनेर उहाँले बोलेर गएपछि ऐतिहासिक हुन्छ भन्ने हाम्रो बुझाई हो ।’
दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्ताबाट वर्षौदेखि समाधान नभएका समस्या समाधान हुनेतर्फ सोच्न आवश्यक रहेको उनको भनाई छ । नेपाल र भारतबीचको समस्या बिग्रिदा नेपालको हित हुन्छ भन्ने हिसाबले एमालेले नसोचेको उनको भनाई छ । नेपाल र भारतबीचको व्यापारमा नेपालले एक पक्षीय रुपमा घाटा व्यहोरिरहेको उनको भनाई छ । उक्त घाटा व्यहोरिरहेको व्यापारलाई कसरी सन्तुलनमा ल्याउने भन्ने नेपालले प्राथमिक एजेण्डा बनाउन आवश्यक रहेको उनले बताए ।
‘नेपाल–भारतबीचको व्यापार घाटालाई कसरी सन्तुलनमा ल्याउने भन्ने नेपालको प्राथमिक एजेण्डा हो । अझ त्यसभित्र पनि नेपालले अहिले अर्थिकरुपमा सङ्कट भोगिराखेको छ, यो सङ्कटले आम जनमानसमाथि पारिरहेको प्रभाव र त्यो प्रभावबाट झण्डै दुईतिहाई व्यापार हुने मुलुक र सबैभन्दा ठूलो लगानीकर्ता मुलु्क भारत हो, प्रधानमन्त्रीस्तरीय भेटवार्तामा यो विषयमा ध्यानाकर्षण हुनुपर्छ,’ उनले भने ।
नेपालबाट भारतमा विद्युत् निर्यातका सन्दर्भमा समेत छलफल हुन आवश्यक रहेको उनले औंल्याए । नेपालको सम्भावनाको स्रोत जलस्रोतले र विद्युतका बारेमा भारतसँग सकारात्मक संवाद हुन सकेमा केही मात्रामा आर्थिक मन्दी सम्बोधन हुनसक्ने उनको भनाई छ ।
पर्यटन क्षेत्रको विकासका लागिससमेत प्रधानमन्त्रीले यस भ्रमणलाई उपयोग गर्न आवश्यक रहेको उनले बताए । भैरहवा विमानस्थलमा सिधै भारतबाट हवाई सञ्चालन गर्न सकेको खण्डमा पर्यटन विकासमा सहयोग पुग्ने विचार उनको छ ।
भारतबाट भैरहवा उडान र कृषिसम्बन्धी देखिएका समस्या समाधानका लागि तल्लो तहको प्रयास असफल भएको बताउँदै उनले पर्यटन र कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि राजनीतिक तबरबाटै पहल गरिनुपर्नेमा जोड दिए ।
तराईमा हुने डुबानको समस्या समाधानका लागि पनि प्रधानमन्त्रीस्तरीय भेटवार्तामा छलफल भएर समाधानका लागि पहल गर्न आवश्यक रहेको उनको धारणा छ ।
‘हरेक वर्षात्मा हामी तराईमा डुवानमा पर्छौं । यो भन्दाअघि केपी ओलीको नेतृत्वमा रहेको सरकारका पालामा एउटा जोइन्ट कमिटी बनेर पर्सादेखि सप्तरीसम्मको डुबानको बारेमा अध्ययन भएको छ । पहिलोपटक भारतले सिमा क्षेत्रमा भारतीय संरचना बनेर नेपालतर्फ डुवान भएको भनेर त्यो प्रतिवेदनमा स्विकारेको जोइन्ट प्रतिवेदन तयार भएको छ,’ उनले भने, ‘यस्ता थुप्रै विषय छन् हामीसँग, जुन विषयले नेपालीको जनजीवनमा असर गरेको छ, नेपालको अर्थतन्त्रमा असर गरेको छ । कृषि, पर्यटन, जलस्रोतका सम्बन्धमा असर गरेको छ । यी कुरातर्फ प्रधानमन्त्रीको भ्रमण केन्द्रीत हुनुपर्छ ।’













प्रतिक्रिया