
काठमाडौं, १४ जेठ । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम टुंगिएपछि समितिले पूर्णता पाएको छ ।
संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्यहरुको नाम टुंगो लागेपछि आज आइतबार समितिले पूर्णता पाएको हो ।
राजनीतिक दलहरूले प्रतिनिधिसभाबाट समितिमा रहने सांसदहरुको नाम दिएपछि सभामुख देवराज घिमिरेले बैठकमा प्रस्ताव गरेको नाम प्रतिनिधिसभा बैठकले अनुमोदन गरेको हो ।
१५ सदस्सीय समितिमा नेपाली कांग्रेसबाट ज्ञानेन्द्र बहादुर कार्की, ईश्वरी न्यौपाने, रमेश लेखक र जीवन परियार गरी चार जना रहेका छन् ।
त्यसैगरी, समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट लिलानाथ श्रेष्ठ, पदम गिरी, महेश कुमार बर्तौला र ईश्वरी जीएम रहेका छन् ।
नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपतिशमशेर राणा र जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी रहेका छन् ।
१५ सदस्सीय समितिमा राष्ट्रियसभाबाट कांग्रेसका रमेशजंग रायमाझी, एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा गत वैशाख १३ गते नै मनोनित भइसकेका छन् ।
समितिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशहरु, संवैधानिक आयोगका पदाधिकारी तथा सदस्य, राजदूतको नाम अनुमोदन गर्ने जस्ता काम गर्दै आइरहेको छ ।













प्रतिक्रिया