
काठमाडौं, ९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक व्यवस्था विपरित सरकारले न्यायपरिषद्मा सदस्य नियुक्त गरेको बताएका छन् ।
आज मंगलबार ललितपुरको च्यासलस्थि पार्टी केन्द्रीय कार्यालयमा नेकपा एमाले जनसंगठन पदाधिकारी भेलालाई सम्बोधन गर्दै ओलीले न्यायपरिषद्मा ६५ वर्षभन्दा माथिलाई नियुक्त गर्न नपाउने व्यवस्था रहे पनि ७१ र ७७ वर्षका व्यक्तिलाई नियुक्त गरेको बताएका हुन् ।
उनले यस विषयमा संविधान र कानूनका दफा देखाएर प्रधानमन्त्रीलाई प्रश्न सोध्ने बताएका छन् । अध्यक्ष ओलीले यसअघि २३ महिनासम्म संवैधानिक परिषद्को बैठक बस्न नसकेको र डेड वर्षसम्म प्रतिपक्षीसँग संवाद पनि नगरेको भन्दै अहंकार र घमण्डले देश नचल्ने जिकिर गरे ।
वर्तमान सरकार कुनै पनि ढंगले राष्ट्रप्रति जिम्मेवार नदेखिएको उनको भनाइ छ । त्यस्तै अध्यक्ष ओलीले मुलुकमा आर्थिकलगायत विभिन्न समस्या देखिए पनि सरकार बेखबर जस्तै देखिएको तर्क गरेका छन् ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेको कुनै संलग्नता नरहेको र नहुने भन्दै एमालेभित्र रहेर पार्टीको आदर्श र मूल्य मान्यताविपरीतको काम गरे कारबाही गर्न अग्रसर हुने बताए । ओलीले एमालेमाथि सबैतिरबाट तीव्र हमला गरेर सिध्याउन खोजे पनि पार्टीलाई अझ सशक्त रुपमा अघि बढाउने पनि बताए ।
उनले पार्टी ध्वस्त पार्ने, पार्टी नेतृत्वप्रति अनास्था गर्ने काम भए पनि पार्टीलाई शुद्धीकरण गर्ने मौका पाएको र शुद्धीकरण कारण पार्टीलाई छोटो समयमा नै मजबुद अवस्थामा पुर्याएको दाबी गरे ।













प्रतिक्रिया