२८ आश्विन २०८३, बुधबार

एमालेले देशका लागि राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सृजना गरियो : केपी ओली

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका लागि राम्रो काम गर्न खोज्दा जनतामा भ्रम सृजना गर्ने काम भएको बताएका छन् ।

नेपाल मुस्लिम इत्तेहाद संगठनद्वारा आज सोमबार ललितपुरमा आयोजित इद मिलन तथा पुस्तक विचोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री हुँदा पारदर्शीताका साथ देश विकासको भिजनका साथ अघि बढ्दा जनतालाई भ्रममा पार्ने र सचेत हुन नदिने काम भएको बताएका हुन् ।

उनले नेपालमा अहिले कसैको मान मर्यादा हुन थाले बद्नाम गर्ने प्रवृति देखा परेको जिकिर गरे । ओलीले एमाले सरकारले पाँच/सात दशकमा हुन नसकेको विकास गरेर देखाएको दाबी गरेका छन् ।

योजना समयमा नै पूरा गर्ने र असाधारण विकासको गति ल्याउँदा पनि धर नपाएको उनको भनाइ छ । ओलीले अहिले राष्ट्रिय सद्भावसहितको एकताका लागि पहल गर्नुपर्ने बताए ।

संविधानसभा सदस्य नजिर मियाद्वाँरा लिखित संघर्षशील आवाजहरु नामक पुस्तकका बारेमा धारणा व्यक्त गर्दै अध्यक्ष ओलीले पुस्तकमा लेखकका असाधारण अनुभव, पारिवारिक व्यवहार, पार्टीगत काम, मुस्लिम इत्तेहाद सङ्गठनका प्रसङ्गवश सम्झिएका महत्वपूर्ण विषयवस्तुहरु पुस्तकमा रहेको बताए । उनले मियाँलाई अझ ज्ञानवद्र्धक अर्को पुस्तक प्रकाशन गर्ने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

उनले विश्व राजनीतिमा धर्मका नाममा ठूलाठूला आन्दोलन भइरहेको उल्लेख गर्दै सामाजिक न्याय समानता र सद्भावसहित राष्ट्रिय एकतामा केन्द्रित हुनुपर्ने बताए ।

विमोचित पुस्तकका लेखक संविधानसभा सदस्य नजिर मियाँले पुस्तकमा महामुली गाउँको खेती किसानी गरेको व्यक्तिको जीवनमा घटेका घटनालाई चित्रण गर्न खोजेको बताए । ‘पुस्तकमा महामुली गाउँको खेती किसानी गर्ने व्यक्तिको जीवनमा घटेका घटनालाई चित्रण गर्न खोजेको छु । मैले ७२ वर्षसम्म के मेहनत गरेँ भन्ने कुरा पुस्तकमा लेखेछु,’ मियाँले भने ।

यस्तै, नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पुस्तकमा व्यक्तित्वका विभिन्न आयामलाई प्रस्तुत गरिएको बताए । ‘पुस्तकमा व्यक्तित्वका विभिन्न आयामलाई प्रस्तुत गरिएको छ । मुस्लिम समुदायको हितका लागि संविधानसभामा निर्वाह गरेको महत्त्वपूर्ण भूमिका पुस्तकमा छ । मुस्लिम समुदायलाई हिंसा प्रियका रुपमा चित्रित गरिँदा अत्यन्तै पीडामा परेको र उक्त समुदायले असुरक्षित महसुस गरेको छ,’ ज्ञवालीले भने ।

नेपालको बहुसांस्कृतिक समुदायलाई सम्मान गर्दै सबैलाई समेटेर जानुपर्ने आवश्यकता औंल्याउँदै उनले व्यक्तित्व निर्माणका लागि प्रेरणा प्रदान गर्ने खालको पुस्तक भएको बताए ।

प्रकाशित पुस्तकमाथि टिप्पणी गर्दै अग्रज पत्रकार पुरुषोत्तम दाहालले पुस्तक विमोचनको अवसरले राजनीतिक धार्मिक समन्वय, सुखद अवसर सृजना गरेको बताए ।