
काठमाडौं, ८ जेठ । वैदेशिक रोजगारीका लागि स्विट्जरल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बनेपा नगरपालिका–४ काभ्रेपलाञ्चोक घर भई हाल बाँके कोहलपुर नगरपालिका–११ दशबिगा बस्ने ४६ वर्षीया पार्वती थापा छिन् । उनलाई आज सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
थापा समेतले पीडितलाई वैदेशिक रोजगारका लागि स्विट्जरल्याण्ड पठाई सुपर मार्केटमा प्याकिङको काम लगाइदिन्छु र मासिक एक लाख रूपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी रकम गठी गर्दै आएका थिए ।
उनले पीडितबाट पटक–पटक गरी ७ लाख २० हजार रूपैयाँ रकम ठगी गरेको प्रहरीले जनाएको छ । ठगी गरेको आरोपसहित उनीविरुद्ध पीडितले वैदेशिक रोजगार विभाग उजुरी दिएका थिए ।
उजुरीको आधारमा विभागले पक्राउ गर्न प्रहरीलाई पत्राचार गरेको थियो । विभागको पत्र अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।













प्रतिक्रिया