
काठमाडौं, ६ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै व्यापारिक घराना वा निश्चित वर्गलाई फाइदा हुनेगरी करको दर हेरफेर नहुने स्पष्ट पारेका छन् ।
सिंहदरबारमा आज शनिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री महतले कसैको व्यक्तिगत हितका लागि करको दायरा हेरफेरलगायत नीतिगत भ्रष्टाचार नहुने र गर्न नदिने स्पष्ट पारेका हुन् ।
समग्र अर्थतन्त्रलाई दृष्टिगत गरेर आगामी आर्थिक वर्षको बजेट आउने उनले बताएका छन् । उनले मुलकभित्र उत्पादनलाई बढाउने, उद्योग व्यवसायीलाई प्रोत्साहन गर्नेलगायत कुरालाई बजेटमार्फत प्राथमिकतामा राखिएको जानकारी पनि दिएका छन् ।
उनले अहिले आर्थिक वर्षको नौ महिनापछि बजेट उपलब्ध गराउन माग गर्ने र ठेक्का लगाउने प्रवृत्तिलाई आफूले रोकेको जानकारी दिदै बजेटपछि लगत्तै कार्यान्वयनका लागि कार्यतालिका बनाउने बताए ।
बजेटमार्फत पूँजीगत खर्च, राजश्व परिचालनले गुणस्तरीय उत्पादन गर्नेमा ध्यान केन्द्रति हुने उनको भनाइ छ । अर्थमन्त्री महतले अहिलो राजस्व कम उठेको क्षेत्रलाई सुधार गर्ने प्रयास भइरहेको भए पनि आर्थिक वर्षमै गति लिएर ३५–४० प्रतिशत बढी राजस्व उठाउन सक्ने अवस्थानमा रहेको जिकिर गरे ।
त्यस्तै, उनले वैदेशिक ऋणले नेपालको अर्थतन्त्रलाई सहयोग पुगेको छ कि छैन भन्ने विषयमा समिक्षा हुन जरुरी रहेकाले समीक्षामार्फत खर्च गर्ने क्षमता पनि देखाउन आवश्यकता रहेको बताए ।
बैठकमा समिति सदस्यहरुले बजेट कार्यान्वयनको चूनौतीलाई ध्यान दिन सुझाव दिएका थिए । एमाले सांसद सूर्य थापाले उपभोग्य बस्तुको परनिर्भरतालाई कम गर्न मुलुकमा उत्पादन बढाउने र आयात कम गर्ने योजनाको अभाव रहेको भन्दै यसमा ध्यान दिन अर्थमन्त्रीलाई सुझाव दिनुभयो ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले विगत १० वर्षदेखिको बजेट हेर्दा कार्यान्वयनको खाँचो रहेको भन्दै यसमा ध्यान दिन सुझाव दिए । उनले बजेटको प्राथमिकतालाई पनि ध्यान दिएर बिनियोजन गर्नुपर्ने बताएका छन् ।
त्यस्तै समिति सदस्यहरु विराजभक्त श्रेष्ठ, भवानी खापुङ, ज्ञानेन्द्र शाहीलगायतले बजेटलाई कर्मकाण्डी मात्रै नबनाएर मुलुकको आर्थिक समस्या समाधान गर्नेतर्फ केन्द्रित हुन सुझाव दिएका थिए ।













प्रतिक्रिया