
काठमाडौं, ६ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारको नीति तथा कार्यक्रम अनावश्यक ढंगको लामो र पट्यारलाग्दो भएको बताएका छन् ।
अधिकांश पुरानै नीति र कार्यक्रमको कपिपेष्ट गरी शब्द र सन्दर्भ तलमाथि पारिएको भन्दै थापाले नीति तथा कार्यक्रम कार्यान्वयन हुनै नसक्ने कार्यक्रमको पुलिन्दा भएको समेत टिप्पणी गरेका हुन् ।
थापाले संकटग्रस्त अर्थतन्त्र सुधारबारे कुनै ठोस नीति नभएको भन्दै सनातन धर्म संस्कृति संरक्षणमा प्रतिवद्धताको अभाव भएको बताए । ‘अतिक्रमित नेपाली भूमी फिर्ता ल्याउनेबारे ठोस संकल्प नभएको नीति तथा कार्यक्रमहरु कार्यान्वयन हुन नसकेकोबारे वस्तुगत समीक्षा र सुधारको प्रतिवद्धता नभएको हुँदा जति भनिएको छ त्यो पनि कार्यान्वयन हुने सम्भावना र विश्वास गर्ने आधार देखिदैन,’ थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
यस्तै, उनले रोजगारी सृजनामा ओठे प्रतिवद्धता मात्र भएको कुनै भरपर्दो नीति कार्यक्रम नदेखिएको भन्दै विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्ने नीतिलाई भने सकारात्मक रुपमा लिनुपर्ने पनि बताएका छन् ।
भ्रष्टाचार निवारणमा ठोस नीतिगत एवम् संरचनात्मक सुधार नआएको भन्दै उनले शिक्षा, स्वास्थ्य क्षेत्रमा लगानी बढाउने नीतिलाई भने राम्रो मान्न सकिने टिप्पणी गरेका छन् ।













प्रतिक्रिया