२९ आश्विन २०८३, बिहिबार

‘प्रधानमन्त्रीज्यू, फिल्म देखाउन त लडाकु शिविरको घोटाला पनि छानविन गर्न पर्ला नि’ (भिडिओ)

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । नेकपा एमालेले जुनसुकै क्षेत्रमा भएका भ्रष्टाचारको छानबिन गर्न सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारदेखि कानूनलाई हात लिने सबै विषयलाई छानबिनको दायरामा ल्याउन माग गरेका हुन् ।

उनले वाइडबडी घोटाला, बाँसबासी जग्गा काण्ड, बालमन्दिर जग्गा काण्ड, मातातीर्थ जग्गा काण्ड, यती र ओम्नी काण्ड, लडाकु शिविरको घोटाला काण्ड र बजेटमा बिचौलिया राखेको र सीसीटीभी फुटेज गायभ पारेकोलगायत सबै विषयमा छानबिन गरी दोषीलाई एक–एक गरी कारबाहीको दायरामा ल्याउन आग्रह गरे ।

दोषीलाई कारबाही गर्ने सन्दर्भमा एमाले सरकारलाई सहयोग गर्न तयार रहेको उनले बताए ।

अहिले सिङ्गो मुलुकको ध्यान नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने घटनामा केन्द्रित भएको भन्दै उनले यसमा संलग्नलाई छानबिनको दायरामा ल्याउन र कारबाही गर्न माग गरे । तर, घटनामा संलग्न भएका केही व्यक्तिलाई छाड्न बयान फेर्ने काम भइरहेको भन्दै उनले यसलाई राजनीतिक रंग दिन नहुने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले शनिबार एक कार्यक्रममा दिएको ‘नक्कली भुटानी शरणार्थी प्रकरण टे«लर मात्र भएको र पूरा फिल्म आउनै बाँकी रहेको’ भन्ने अभिव्यक्तिमाथि टिप्पणी गर्दै सचेतक गिरीले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी तपाइँको फिल्म हेर्न टिकट काटेर तयारी अवस्थामा बसेका छौँ, तर लडाकु शिविरको दृश्य आउँछ कि आउँदैन ?’ अब सबै प्रकारका भ्रष्टाचारको फाइल खोलिनेमा आफूहरू विश्वस्त रहेको उनले बताए ।

नक्कली शरणार्थी प्रकरणबारे सांसद पार्वती रावलले संसदमा गत भदौमै गम्भीरताका साथ प्रश्न उठाउँदासमेत सरकारले अहिलेसम्म नसुनेको आरोप उनले लगाएका छन् ।