
काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिक सुसूचित हुनसक्दा मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्ने बताएका छन् ।
गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन चौथो अङ्गका रूपमा सञ्चार माध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै नागरिक सुसूचित भएमात्र गणतन्त्र टिकाउ हुने बताएका हुन् ।
सही सूचना र जानकारीबाट सूचित हुने नागरिकको अधिकार प्रत्याभूत गर्न आमसञ्चार जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिएका छन् । राष्ट्रिय एकता र समाजमा सकारात्मक सन्देश दिनका लागि सरकारी सञ्चारमाध्यमले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व आमसञ्चार माध्यमको रहेको पनि उनले बताएका छन् । प्रधानमन्त्री प्रचण्डले राज्यका सबै कामकारवाही पारदर्शी हुनुपर्ने भन्दै राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व सञ्चारमाध्यमको भएको बताएका हुन् ।
उनले राष्ट्रको इतिहास र सभ्यता जोडिएको गोरखापत्र संस्थालाई अहिलको डिजिटल युग सुहाउँदो बनाउन आन्तरिक सुधार तथा पुनरसंरचना आवश्यक रहेको बताए ।













प्रतिक्रिया