
काठमाडौं, २३ वैशाख । नेकपा माओवादी केन्द्रले भ्रष्टाचारीविरुद्धको फाइल खोल्ने काम सुरू गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट समर्थन फिर्ता लिएको बताएको छ ।
भ्रष्टाचारविरुद्धका फाइल खोल्ने भएपछि मात्रै सरकारमा सहभागी हुने भन्दै आएको रास्वपाले सरकार त्यस दिशातर्फ अघि बढिरहेका बेलामा समर्थन फिर्ता लिनु सान्दर्भिक नभएको पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले बताएका हुन् । रास्वपामा पनि भन्ने र गर्नेबीच लय नमिलेको उनको टिप्पणी छ ।
माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महराले सरकार जनतासँग गरेको प्रतिवद्धता अनुरुप अघि बढिरहेको बताए । उनले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कानुनको दायरामा ल्याउन, मिटरब्याज पीडितलाई न्याय दिने कुरामा अडिग रहेको बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारवाही हुनुपर्ने धारणा उनको छ ।
‘नक्कली शरणार्थी बनाउने जस्तो गम्भीर अपराध कार्यमा संलग्न कसैलाई पनि सरकारले छोड्नु हुँदैन । यो गम्भीर अपराध हो, गठबन्धनभित्र र बाहिर जोसुकैलाई पनि कारबाही हुन्छ,’ उनले भने ।
आज शनिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिए पनि सरकारसँग स्पष्ट बहुमत हरेको बताएका छन् । सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आए पनि स्पष्ट बहुमत पुग्ने उनको भनाइ छ ।













प्रतिक्रिया