काठमाडौँ, १९ जेठ । नेपाल पर्यटन बोर्डमा भएको आर्थिक अनियमितता छानविन गरी दोषीलाई कारबाही गर्नुपर्नेलगायतका माग गर्दै एक महिनादेखि आन्दोलनमा उत्रिएका पर्यटन व्यवसायीले आन्दोलन स्थगित गरेका छन् ।
संयुक्त पर्यटन व्यवसायीले सोमबार राजधानीमा पत्रकार सम्मेलनको गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भीमप्रसाद आचार्यले वार्तामा आउन आग्रह गरेपछि तत्कालका लागि आन्दोलन स्थगित भएको बताएका हुन् ।
संयुक्त पर्यटन व्यवसायीका संयोजक रमेश धमलाले मन्त्री आचार्यले वार्ताबाट समस्याको समाधान खोज्ने आश्वासन दिनु भएकाले तत्कालका लागि आन्दोलन स्थगित गरेको बताउनुभयो ।
उहाँले मन्त्री आचार्यले बोर्डमा भएको अनियमितता छानविन समितिमा निजी क्षेत्रबाट चारजना पर्यटन व्यवसायीको नाम दिनसमेत आग्रह गर्नुभएकाले वार्ताबाट समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
निजी क्षेत्रबाट अनियमितता छानविन समितिका लागि सिफरिस गरेका चार सदस्यमा टे«किङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष तथा संयुक्त पर्यटन व्यवसायीका संयोजक रमेश धमला, टानका पूर्व अध्यक्ष दीपक महत, राष्ट्रिय पर्यटन व्यवसायी संघका अध्यक्ष चन्द रिजाल र पर्यटन व्यवसायी गणेश सिम्खडा रहनु भएको बताइयो ।
पर्यटन व्यवसायमा संलग्न विभिन्न २५ वटा संघसंस्था संलग्न रहेको उक्त संयुक्त पर्यटन व्यवसायीले बोर्डमा भएको आर्थिक अनियमितताको छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने, बोर्डमा प्रमुख कार्यकारी निर्देशक नयाँ नियुक्त गर्नुपर्ने, निजी पर्यटन व्यवसायीहरूबाट पनि छानविन समितिमा सदस्य बनाउनुपर्नेलगायत माग राख्दै गत वैशाख १७ गतेदेखि आन्दोलनमा उत्रिएका थिए ।













प्रतिक्रिया