३० आश्विन २०८३, शुक्रबार

एमालेको मिसन ग्रासरुट अभियानमा आज के–के भए ?

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ चैत । जनमतका हिसाबले लोकप्रिय तथा संसदको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिले संगठन सुदृढीकरण र विस्तार अभियान ‘मिसन ग्रासरुट’ लिएर गाउँ–गाउँमा पुगेको छ ।

आगामी निर्वाचनको तयारी भन्दै एमाले सरकारको छिनाझपटी छोडेर जनताको घरदैलोमा पुगेको हो । यस क्रममा एमालेले जिल्ला, पालिका र वडास्तरमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । यसबाट जनताको गुनासो र समस्या सुन्ने र समाधानमा लाग्ने एमालेले बताएको छ ।

अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?

काठमाडौं

नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत आज देशभर विविध कार्यक्रम भएका छन् ।

यसैक्रममा काठमाडौंको नागार्जुनबाट २०४९ देखि २०७९ सम्म उम्मेदवार रही बिजेता र उपबिजेता रहनु भएका स्थानिय तहका जनप्रतिनिधिहरूको सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी केन्द्रीय सचिव तथा बाग्मती प्रदेशका लागि अनुगमन कर्ता गोकर्ण बिष्टको प्रमुख आतिथ्यतामा सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

तेह्रथुम

मिसन ग्रासरुट अभियानअन्तर्गत तेह्रथुमको छथर गाँपालिकापालिकामा श्रम शिविर कार्यक्रम सन्चालन भएको छ ।

पार्टी स्थायी कमिटी सदस्य शेरधन राइको प्रमुख आतिथ्यतामा श्रम शिविर कार्यक्रम सम्पन्न भएको हो । श्रम शिविरमा पार्टी केन्द्रीय सदस्य यज्ञराज सुनुवार, कोशी प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मण तिवारी लगायत नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।

संखुवासभा

संखुवासभाको मकालु गाउपालिकामा अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, मजदुर सङ्गठन र राष्ट्रिय युवा सङ्घ नेपालको गाउँ कमिटी गठन गरिएको छ ।

पार्टी स्थायी कमिटी सदस्य शेरधन राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जनसंगठनअन्तर्गतका गाउँकमिटी गठन गरिएको हो । कार्यक्रममा केन्द्रीय सदस्यहरू विनोद ढकाल, पासाङ शेर्पा, विष्णुमाया विक लगायत नेताहरूको सहभागिता थियो ।

सुर्खेत

नेकपा एमाले स्थायी समिति सदस्य शिवमाया तुम्बाहाम्फेले राज्यका महत्वपूर्ण निकायमा ३३ प्रतिशत सहभागिताको सुनिश्चितता गर्ने पार्टी नेकपा एमाले भएको बताउनु भएको छ ।

मिसन ग्रासरूट अभियान अन्तरगत अखिल नेपाल महिला संघ वीरेन्द्रनगर नगर कमिटीले आयोजना गरेको नगरस्तरिय भेलालाई सबोधन गर्दै स्थायी कमिटी सदस्य तुम्बाहाम्फेले अर्काे निर्वाचनमा एमालेले बहुमत ल्याएर महिला सहभागिता ३३ प्रतिशतलाई ५० पुर्याउने बताउनु भयो ।

अभियान अन्तरगत बढी भन्दा बढी महिलाहरूलाई एमालेप्रति आर्कषित गर्दै संगठित सदस्य बनाउन पनि उहाले कार्यकर्ताहरूलाई निर्देशन दिनु भयो । अनेम संघ वीरेन्द्रनगर नगर कमिटी अध्यक्ष टीका घलेको अभ्यक्षतामा सम्पन्न भेलामा पार्टीका पोलिटव्यूरो सदस्य भैरब सुन्दर श्रेष्ठ, अनेमसंघका केन्द्रीय सदस्य पदमा खडका, एमाले जिल्ला कमिटी उपाध्यक्ष कूलमणि देवकोटा लगायतको उपस्थिति थियो ।

स्याङ्जा

मिसन ग्रासरुट अभियान अन्तर्गत विरुवा गाउँपालिका स्याङ्जामा आज मध्यावधि समिक्षा बैठक सम्पन्न भएको छ । पालिका अध्यक्ष प्रकाश थापाको अध्यक्षतामा सम्पन्न बैठकमा अभियानका केन्द्रीय प्रतिनिधि तथा पार्टी पोलिटब्युरो सदस्य कमरेड लिला बहादुर थापा मगरले अभियान पार्टीको गति बढाउन निर्णायक रहेको औल्याउंदै पार्टीको माथिल्लो तह देखि आधारभूत तह सम्म शुद्दिकरण जरुरी रहेको बताउनुभयो ।

बैठकमा पार्टी केन्द्रीय सल्लाहकार सदस्य टेकु नेपाली, गण्डकी प्रदेश उप–सचिव रश्मि आचार्य, प्रदेश सचिवालय सदस्य चुन प्रसाद शर्मा, प्रदेश सदस्य भगवती शर्मा, जिल्ला सचिवालय सदस्य सुर्य कुँवरले प्रशिक्षणमुलक भनाई राख्नु भएको थियो ।

समिक्षा बैठकले चैत्र २५ भित्र टोल तथा वडाको प्रशिक्षण सक्ने, चैत्र २७ गते पालिका स्तरका जनसंगठनको बैठक आयोजना गर्ने, ३० गते बुद्दिजिबीसंग अन्तर्क्रिरया गर्ने, बैशाख ४ गते जेष्ठ नागरिक सम्मान गर्ने, बैशाख ४ गते पालिका सभादलको बैठक गर्ने निर्णय गरेको छ ।

तनहुँ

मिसन ग्रासरुट अभियानअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नम्बर १० र १२ मा वडा कमिटीको बैठक सम्पन्न भएको छ । वडान नम्बर १० को बैठक कमिटी अध्यक्ष मदन तिमल्सेनाको अध्यक्षता र पार्टी पोलिटव्युरो सदस्य तथा तनहुँ जिल्ला ईन्चार्ज टुकराज सिग्देलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

बैठकमा गण्डकी प्रदेश सचिवालय सदस्य,बिष्णुभक्त सिग्देल, जिल्ला कमिटी उपसचिव प्रदीपराज अधिकारी, जिल्ला कमिटी सदस्य गणेश विक, जिल्ला सल्लाहकार परिषद सदस्यहरू मायानाथ कोईराला, मोहन सुनार, विष्णुप्रसाद ढकाल लगायत नेताहरू उपस्थित हुनुहन्थ्यो । वैठकमा पोलिट्व्युरो सदस्य टुकराज सिग्देललगायतले निर्देशनात्मक मन्तव्य राख्नुभएको थियो ।

यस्तै, वडा नम्बर १२ को बैठक वडा कमिटी अध्यक्ष लालबहादुर क्षेत्रीको अध्यक्षता र गण्डकी प्रदेश सचिवालय सदस्य बिष्णु भक्त सिग्देलको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकमा जिल्ला कमिटी सदस्य एवम् वडा ईन्चार्ज ईश्वर वहादुर विष्ट, जिल्ला सल्लाहकार परिषद तनहुँका उपाध्यक्ष मित्रप्रसाद न्यौपाने लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो ।

दुवै वडाको वैठकले अभियानलाई टोल–टोल सम्म पुर्‍याउने, आगामी वैषाख १० गते हुने उप–निर्वाचनलाई ध्यान दिदै पार्टीलाई व्यवस्थित गर्न महत्वपूर्ण योजना तय गरेको छ ।

जुम्ला

नेकपा (एमाले) का प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माओवादी उग्रवामपन्थी दलबाट विचौलिया दलमा रूपान्तरण भएको बताउनुभएको छ ।

जुम्लाको खलंगामा शुक्रवार बिहान आयोजित पत्रकार सम्मेलनमा उहॉले माओवादीको शक्ति निरन्तर घटिरहेको र नेताको महत्वाकांक्षा बढिरहेकोले माओवादीलाई उग्रवामपन्थी दलबाट विचौलिया दलमा रूपान्तरण गरेको उहाँले बताउनुभयो । एमाले नभए कांग्रेस, कांग्रेस नभए एमाले भन्ने मानसिकता यसैको उपज भएको उहाँको धारणा थियो ।

वर्तमान सत्ता गठबन्धन नीतिहीन र उद्देश्यविहीन भएकाले मुलुकका लागि दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै नेता रिजालले अब मुलुकको सम्पूर्ण समय सेटिङ, ठेक्कापट्टा, भागवण्डा र कमिसनको खेलमा बित्ने चिन्ता व्यक्त गर्नुभयो ।

सत्तारूढ पार्टीहरूबीच नीति र सिद्धान्तमा कुनै तालमेल नभए पनि प्रमुख नेताहरूबीच निजी स्वार्थमा भने समानता रहेको उहाँले बताउनुभयो । आफू जसरी पनि पदमा जाने, परिवारका सदस्यहरूलाई नियुक्ति दिने, आफू निकटलाई ठेक्कापट्टा दिने जस्ता कुरामा प्रचण्ड र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा चलिरहेको उहाँलदे टिप्पणी गर्नुभयो । अब मुलुक दुई परिवारको प्राइभेट कम्पनीका रूपमा दुरूपयोग हुने उहाँको भनाइ छ ।

नेकपा (एमाले), जुम्लाका अध्यक्ष शान्तिलाल महतको अध्यक्षतामा आयोजित पत्रकार भेटघाटमा मिसन ग्रासरुट अभियानका बारेमा जानकारी दिइएको थियो ।

बर्दिया

मिसन ग्रासरूट अभियानअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका कमिटीको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यता र नगरकमिटी अध्यक्ष जीवनकुमार शाहीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य शान्ती ढकालको पनि विशेष उपस्थिति थियो । यस्तै, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल, प्रदेश कमिटी सदस्य श्याम ढकाल लगायत नेताहरूको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कपिलवस्तु

मिसन ग्रासरूट अभियानअन्तर्गत कपिलवस्तु विजयनगर गाउँपालिकाको राष्ट्रीय स्वास्थ्यकर्मी महासंघको बैठक सम्पन्न भएको छ । पालिका अध्यक्ष शंकर सुनारको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य सीता सिग्देलको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।

बैठकललाई पालिका उपाध्यक्षसमेत रहनुभएकी जिल्ला कमिटी सदस्य लक्ष्मी चौधरी, गाउँकमिटी अध्यक्ष थर्क बहादुर खन्गाहा, स्वास्थ्य महासंघका जिल्ला अध्यक्ष यज्ञप्रसाद अधिकारी लगायतले सम्बोधन गर्नु भएको थियो ।

गोरखा

मिसन ग्रासरूट अभियानअन्तर्गत गोरखाको आरुघाट गाउँपालिकाका जनप्रतिनिधि र पार्टी बीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँ सभादलका अध्यक्ष रन्जित श्रेष्ठको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य किशोर बिक्रम मल्लको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य सुरेन्द्र श्रेष्ठ, जिल्ला कमिटी सदस्यहरू मेन बहादुर अधिकारी, सबिता बराम, रेनुका न्यौपाने लगायत नेताहरूकोसमेत उपस्थिति रहेको थियो । कार्यक्रमले अभियानलाई प्रभावकारी बनाउने, विकास निर्माणको काममा पार्टी कमिटीसँग समन्वय गरी पार्टीलाई जनताकोबीचमा स्थापित गराउने लगायत निर्णय गरेको छ ।

दोलखा

दोलखाको भिमेश्वर नगरपालिकाको आयोजनामा जनवर्गीय संगठनको भेला सम्पन्न भएको छ । प्रदेश कमिटी सचिवालय सदस्य एबम जिल्ला इन्चार्ज ईश्वर चन्द्र पोखरेलको प्रमुख आतिथ्यता र नगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र प्रधानको अध्यक्षतामा भेला सम्पन्न भएको हो ।

भेलामा प्रदेश कमिटी सदस्य टेक घतानी, पार्टी जिल्ला कमिटी उप–सचिव कमला बस्नेतलगायत नेताहरू उपस्थित हुनुहुन्थ्यो । भेलाले जनसङ्गठनहरूलाई सवल एवम् शसक्त बनाएर जनताबीच लैजाने, सङ्गठन गठन तथा पुर्नगठनलाई व्यापक बनाउने, सदस्यता वितरण गर्ने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ ।

रूकुम पश्चिम

मिसन ग्रासरूट अभियानअन्तर्गत रूकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं १ र २ मा कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला कमिटी सचिवालय सदस्य लालबहादुर बुढाको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला कमिटी सदस्यद्वय नवराज मल्ल र जिल्ला कमिटी सदस्य पदम बहादुर खड्का लगायत नेताहरूको उपस्थिति रहेको थियो ।