२८ आश्विन २०८३, बुधबार

ओशो महोत्सव हुँदै, प्रवेश नि:शुल्क

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ चैत । आगामी वैशाख १ गते राजधानीको टुँडिखेलमा ओशो महोत्सव हुने भएको छ ।

नयाँ वर्षको उत्साह र सकारात्मक सन्देशसँगै ओशो तपोवनको सहकार्यमा महोत्सव हुन लागेको हो ।

महोत्सव बिहान ९ देखि रात्रि ९ बजेसम्म चल्नेछ ।

महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिलाई सुहाउने विविध प्रकारका प्रस्तुति राखिएको ओशो तपोवनका प्रवक्ता निराजन भण्डारीले जानकारी दिए ।

आफ्नो व्यस्त जीवनशैलीमा ध्यान, योग र सत्सङलाई अपनाउँदै खुसी जीवन जीउन सकिने कला महोत्सवबाट सिक्न सकिने उहाँको भनाइ छ ।

ध्यान, साधना, सङ्गीत, नृत्य, हास्य, स्वाद साहित्य र अध्ययनको महोत्सव हुने प्रवक्ता भण्डारीले बताएका छन् ।

महोत्सवमा ध्यान, योग, गायन, नृत्य, लाइभ म्युजिक, हास्य ध्यान, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहसनलगायतको प्रस्तुति हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवको मुख्य कार्यक्रम साँझ ५ बजे हुनेछ ।

साँझको कार्यक्रममा एकै साथ ५० हजारले ध्यान र उत्सव गर्ने तपोवनले जनाएको छ ।

ओशो तपोवनले गत वैशाख १ गते पनि टुँडिखेलमा ओशो ‘सेलेब्रेसन’ गरेको थियो । सो कार्यक्रममा १५ हजार बढीले एकसाथ ध्यान गरेका थिए ।

देशका विशिष्ट व्यक्तिको सहभागिता रहने भनिएको सो कार्यक्रममा बोधिसत्व स्वामी आनन्द अरुणबाट विशेष सत्सङ्ग हुने प्रवक्ता भण्डारीले जानकारी दिएका छन् ।

कार्यक्रममा अन्तर्राष्ट्रियस्तरका नृत्य र सङ्गीत प्रस्तुत हुनेछ । सो अवसरमा चर्चित साङ्गीतिक समूह कुटुम्बले विशेष प्रस्तुति दिने उहाँको भनाइ छ ।

महोत्सवका क्रममा ‘फुड फेस्टिभल’ पनि आयोजना हुनेछ ।

फुड फेस्टिभलको संयोजन अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त नेपाली सेफ सन्तोष साहले गर्ने बताइएको छ ।

महोत्सवका संयोजक भवन भट्टले शारीरिक तथा मानसिक तनाव, हतासा, विषादका कारण दिनानुदिन बिग्रदै गएको मानव स्वास्थ्यप्रति जागरुक रहन र नेपाली समाजलाई योग र साधनाका माध्यमबाट जोडी एक समृद्धि मनुष्य निर्माणमा महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन।

महोत्सवमा उच्च सरकारी पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका नेता, विशिष्ट व्यक्ति, कलाकार, सञ्चारकर्मी, स्वदेशी तथा विदेशी ओशोप्रेमी सहभागी हुनेछन् । महोत्सवमा प्रवेश नि:शुल्क गरिएको छ ।