३० आश्विन २०८३, शुक्रबार

मिसन ग्रासरुट अभियान एमालेलाई बहुमत दिलाउने अस्त्र हो : मनकुमारी केसी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ११ चैत । नेकपा एमालेकी पोलिटब्युरो सदस्य मनकुमारी जीसी केसीले मिसन ग्रासरुट अभियान एमालेलाई आगामी निर्वाचनमा बहुमत दिलाउने अस्त्र भएको बताएकी छिन् ।

आज शनिबार नेकपा एमाले बेनी नगरपालिका ७ र ८ नम्बर वडाले बेनीमा आयोजना गरेको मिसन ग्रासरुट–२०७९ को पार्टी सुदृढीकरण तथा विस्तार अभियानलाई सम्बोधन गर्दै उनले अभियानबाट पार्टी सुदृढ र विस्तारित बन्नाका साथै आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने बताएकी हुन् ।

उनले अगुवा कार्यकर्तासहित जनताको माझमा कसरी पुग्ने भन्ने निष्कर्ष निकाल्नका लागि सञ्चालित अभियानमा कतिपय पार्टी एमालेसँग आफू एक्लै चुनावमा लड्न समेत डराएर अर्काको सहारा आवश्यक पर्ने अवस्थामा पुगेको टिप्पणी गरिन् ।

कांग्रेसबाट प्रधानमन्त्री नपाउँदा एमालेको सहयोगले सत्तामा गएपछि पुन: कांग्रेस कित्तामै फर्किएको माओवादी अबको दिनमा कुन अवस्थामा पुग्ला भनेर कल्पना गर्न नपर्ने उनको भनाइ छ । नेकपा एमाले जनमतका हिसाबले देशको पहिलो पार्टी भएकाले आउँदो निर्वाचनबाट एकल बहुमत ल्याएर सत्ताको नेतृत्व गर्ने हुँदा अहिलेको मिसन ग्रासरुट त्यसैका लागि केन्द्रित गरिएको उनको भनाइ छ ।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले पार्टीले दिएको जिम्मेवारी सबैले पूरा गर्नुपर्ने बताउँदै आफ्नो काम, कर्तव्य र अधिकार के हो भनेर पार्टी विधानले नै स्पष्ट किटान गरेको हुँदा सोही अनुसार सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए । एमाले म्याग्दीका उपसचिव थमसरा पुनले नेकपा एमाले एउटा सिङ्गो संगठन भएकाले सबै पङ्तिले पार्टी निर्देशनलाई अक्षरश: पालना गर्नुपर्ने बताए ।

कार्यक्रम एमाले बेनपा–८, वडा कमिटीका अध्यक्ष ठाकुरप्रसाद शर्माको अध्यक्षता, वडा सदस्य यामबहादुर बानियाँको स्वागत र वडानम्बर ७ का वडा कमिटी अध्यक्ष रमेश फगामीको सञ्चालनमा सम्पन्न भएको थियो ।