
काठमाडौं, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजार अनुगमन गर्न र राजस्व छलि रोक्ने कदम चाल्न आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागलाई निर्देशन दिएका छन् ।
आज बिहीबार दिउँसो सिंहदरबारमा जुत्ताचप्पल व्यवसायीहरूको छलफलमा प्रधानमन्त्री दाहालले तीन वटै निकायलाई संयुक्त रूपमा बजार अनुगमन गर्न निर्देशन दिएका हुन् ।
‘राजस्व छलि नियन्त्रणसम्बन्धी जति पनि नीतिगत व्यवस्था छन् ती सबैलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्दछ,’ छलफलको क्रममा प्रधानमन्त्री दाहालले भने, ‘बजारको सशक्त र प्रभावकारी अनुगमन गर्न आन्तरिक राजस्व कार्यालय, राजस्व अनुसन्धान विभाग र वाणिज्य विभागले संयुक्त रूपमा अनुगमन गर्नुहोस् ।’
अवैध आयात नियन्त्रण गर्न राजस्व अनुसन्धान विभाग, सुरक्षा निकाय र स्थानीय प्रशासनले संयुक्त टोली परिचालन गर्न प्रधानमन्त्री दाहालले कडा निर्देशन दिएका छन् । ‘कच्चा पदार्थ र तयारी पदार्थ वा वस्तुको भन्सार दरमा कम्तिमा १० प्रतिशत फरक पर्ने गरी नीतिगत पुनरावलोकन गर्ने तयारी गर्नुस् । सबै सरकारी निकायले स्वदेशी उत्पादनलाई प्रयोग गर्नुपर्ने प्राथमिक नीति निर्धारण गर्नुस्,’ उनले भने ।
छलफलमा जुत्ता चप्पल व्यवसायीका प्रतिनिधिहरूले आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरी सरकारले नीति, कार्यक्रम र कार्यान्वयनको पक्षमा ध्यान दिनुपर्ने बताएका छन् ।















प्रतिक्रिया