३० आश्विन २०८३, शुक्रबार

बहुमत ल्याउनबाट अब एमालेलाई कसैले पनि रोक्न सक्दैन : यामलाल कँडेल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जुम्ला, ७ चैत । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेलले विगतको चुनावमा पॉच दल मिल्दा पनि हाराहारीमा आएको नेकपा एमाले अबको निर्वाचनमा जतिसुकै दल मिले पनि बहुमत प्राप्त दल बन्ने बताएका छन् ।

मिसन ग्रासरुट अभियानअन्तर्गत जुम्लाको तिला गाउँपालिकास्तरीय भेलालाई आज मंगलबार सम्बोधन गर्दै कँडेलले त्यसका लागि अहिलेदेखि नै अहोरात्र खट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

वामपन्थी एजेन्डा र सहयात्री छाडेर माओवादी दक्षिणपन्थमा हिँडिरहेको उल्लेख गर्दै उनले कुनै बेला कम्युनिष्टमाथि झुटा आरोप लगाउने कांग्रेस आज माओवादीको वैशाखीबिना उभिन नसक्ने अवस्थामा पुगेको धारणा व्यक्त गरे । आफ्नो नेतृत्वको अवसरवादी चरित्रका बारेमा माओवादीका इमानदार नेता–कार्यकर्ताले अब गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ छ ।

भेलालाई सम्बोधन गर्दै जुम्लाका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिएका केन्द्रीय सदस्य विष्णु रिजालले नेकपा (एमाले) का लागि सरकारमा जानु वा नजानु प्रधान विषय नभएको उल्लेख गर्दै कांग्रेस र माओवादीका कारण देश पछाडि धकेलिएको चिन्ता आफूहरूलाई रहेको बताए । दक्षिणपन्थी र उग्रवामपन्थीबीचको अप्राकृतिक गठबन्धनले जनताको समृद्धिको सपनामाथि तुषारापात भएको उनको भनाइ छ ।

गाउँपालिका कमिटीका अध्यक्ष धनसिंह बुढाको अध्यक्षतामा आयोजित भेलामा केन्द्रीय सदस्यद्वय नगेन्द्र शाही (नेशनल) र दक्षिणा शाही, जिल्ला अध्यक्ष शान्तिलाल महत, प्रदेश कमिटी सदस्य धीरेन्द्रराज गिरी र गोर्ख बुढा, जिल्ला उपाध्यक्ष सुरतबहादुर शाहीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका काँग्रेस जिल्ला कार्यसमिति सदस्य कृष्णकान्त चौलागाईंलगायतलाई एमाले प्रवेश गरेकाहरूलाई कँडेलले स्वागत गरेका थिए ।