५ कार्तिक २०८३, बिहिबार

जसले अरूका मात्रै दुःखका कुरा समाचार बनाइरहेका छन्

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चरीकोट, २९ वैशाख । दोलखाका अधिकांश पत्रकार जसले अरूका मात्रै भूकम्पपीडितका दुःखका कुरा समाचार बनाई सम्प्रेषण गरिरहेका छन् ।

उनीहरुको दुःख र पीडाको समाचार भने बनिरहेको छैन । ती हुन् पीडामा गुज्रिरहेका दोलखाली पत्रकार ।

भीमेश्वर नगरपालिका–१ गौतम टोलका शम्भु गौतम हिमालय टाइम्स दैनिकका दोलखा संवाददाता एवम् दोलखाका पुराना पत्रकार हुन् ।

अरूको विषयमा समाचार लेख्नुपर्ने गौतमको दैनिकी अहिले आफ्नै बासका लागि कटेरो बनाउनुमै बितिरहेको छ । भूकम्पले घर पूर्ण रुपमा क्षतिग्रस्त भएपछि उनीसँगै कटेरो बनाउन व्यस्त छन् अर्का पत्रकार इमेज च्यानल र आर्थिक अभियान दैनिकका दोलखा संवाददाता रवीन्द्र गौतम ।

पत्रकार गौतम भन्छन्–“अरूको पीडाको सम्बोधनका लागि दिनभर समाचार बनाएर समय मिलाएर मात्रै आफ्नो बासको व्यवस्थामा घोटिएको छु ।”

अरूलाई गाँस, बास र कपासको अभाव भयो भनेर राज्यलाई दबाब दिने पत्रकार आफ्नै लागि एउटा त्रिपालसमेत व्यवस्था गर्न सकेका छैनन् ।

अरूको पीडादायी समाचार लेखेर सहयोग जुटाइरहेका दोलखाका कान्तिपुर संवाददाता राजेन्द्र मानन्धरको अवस्था पनि अहिले निकै पीडादायी बनेको छ ।

विनाशकारी भूकम्पले सदरमुकाम चरीकोटमा रहेको आरसिसी घरलाई क्षति पु-याएपछि उनी अहिले आफन्तको घरमा आश्रय लिएर भूकम्पबाट पीडित अन्य जिल्लावासीको समाचार बनाउन तल्लीन छन् ।

“प्राविधिकको प्रारम्भिक रिपोर्ट तत्काललाई नबस्नु भन्ने छ, अब विशेषज्ञले हेरेपछि घरको व्यवस्थापन कसरी गर्ने निक्र्यौल होला अहिले भने आफन्तकोमा आश्रय लिएर फिरन्ते जीवन बिताउँदै छु”– मानन्धरले भने ।

भूकम्पले गाउँको घर पूर्णरुपमा क्षतिग्रस्त भए पनि सदरमुकाम चरीकोटको चर्किएको घरमा बास बसेर पीडाका समाचार बनाउन तल्लीन छन् अन्नपूर्ण पोष्ट दैनिकका दोलखा संवाददाता सुवास योञ्जन ।

नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष उद्धव पोखरेलले भन्नुभयो–“सबै पत्रकारका घर ध्वस्त भएका छन् ।”

पत्रकार महासङ्घ दोलखाका उपाध्यक्ष जीवन लामा, शैलुङ एफएमका स्टेसन म्यानेजर रामचन्द्र गिरी, हाम्रो रेडियोका स्टेसन म्यानेजर लक्ष्मण खड्का, रेडियो भीमेश्वरका स्टेसन म्यानेजर दीपशङ्कर चौलागाईं, केन्द्रीय पार्षद् दीपक बस्नेतलगायत जिल्लामा क्रियाशील ३६ जना पत्रकारको बासको ठेगान छैन ।

देशभर एक हजारभन्दा बढी पत्रकार घरबारविहीन भएर विस्थापित बन्नुपर्ने अवस्था रहेको नेपाल पत्रकार महासङ्घको प्रारम्भिक तथ्याङ्क रहेको छ ।

भूकम्पले नेपाल समाचारपत्रलगायत राजधानी र मोफसलका धेरै सञ्चारमाध्यममा समेत क्षति पुगेको महासङ्घले जनाएको छ ।

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष खिला भण्डारी, कोषाध्यक्ष सूर्यमणि गौतमको टोली विनाशकारी भूकम्पपछि पत्रकारको अवस्था बुझ्न दोलखा आएको दोलखा शाखाका अध्यक्ष उद्धव पोखरेलले जानकारी दिनुभयो ।

महासङ्घका कोषाध्यक्ष गौतम तत्काललाई राहत तथा उद्धार कार्य भइरहेको बताउँछन् ।

घरबारविहीन बनेका पत्रकारका बारेमा राज्यले कसरी लिन्छ त्यसको विश्लेषण गर्दै भूकम्पपीडित कुनै पनि पत्रकारले व्यावसायिक र घर समाजबाट विस्थापित बन्न नपर्ने अवस्था बनाउन महासङ्घले पहल गर्ने कोषाध्यक्ष गौतमले बताउनुभयो ।