२९ आश्विन २०८३, बिहिबार

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले पशुपति माविबाट गरे मतदान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वतको मोदी गाउँपालिकास्थित वडा नं ७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतदान पछि उनले निर्वाचनमा निर्भिकताका साथ मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई आग्रह समेत गरे। पर्वतमा मुख्य निर्वाचन अधिकृत आनन्दप्रसाद श्रेष्ठले पहिलो मतदान गरी जिल्लाभर मतदान प्रक्रियाको शुभारम्भ गर्नुभएको छ ।

उहाँले कुश्मा नगरपालिकास्थित कुश्मा बजारमा रहेको अस्थायी मतदान केन्द्रबाट प्रतिनिधिसभा सदस्यको समानुपातिक मतपत्रमा मतदान गरी मतदान कार्यक्रमको सुरुआत गरेका हुन् ।

यसैगरी प्रतिनिधिसभा सदस्यका उम्मेदवार पदम गिरीले कुश्मा नगरपालिका–३ दुर्लुङको काफलचौर मावि, अर्का उम्मेदवार अर्जुनप्रसाद जोशीले कुश्मा नगरपालिका–४ मा रहेको नारायण माविवाट मतदान गरेका छन् भने प्रदेशसभातर्फ क्षेत्र नं १ मा एमालेका उम्मेदवार भक्त कुँवरले मोदी गाउँपालिका–५ मा रहेको महेन्द्रशिखरी मावि बाजुङ र गठबन्धनका उम्मेदवार सुदीप कुँवरले कुश्मा–१२ ठूलीपोखरीमा रहेको जनता सुदर्शन माविबाट मतदान गरेका छन् ।

त्यसैगरी प्रदेशसभा क्षेत्र २ का उम्मेदवार मित्रलाल बस्यालले पैंयु–४ मा रहेको जनसेवा संस्कृति मावि हुवास मतदान केन्द्र र अर्का उम्मेदवार ऋषिकेश तिवारीले फलेवास–४ मा रहेको माटेदेवल माविबाट मतदान गरेका छन् । जिल्लामा निर्वाचनका लागि कूल ७६ मतदानस्थलका एक सय ५० मतदान केन्द्र तय गरिएका छन् ।

यस पटकको निर्वाचनमा पर्वतमा ६० हजार छ सय ५१ पुरुष र ६१ हजार नौ सय ९८ महिला गरी कूल एक लाख २२ हजार छ सय ४९ मतदाता रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयसहितको सुरक्षा संयन्त्रले पर्वतमा ३५ मतदानस्थल अतिसंवेदनशील, ३१ मतदानस्थल संवेदनशील र १० मतदानस्थललाई सामान्य सूचीमा वर्गीकरण गरेको छ ।